काठमाडौं । मलहरू सजिसजाउ छन् । फूल तथा गिफ्टमा पनि उस्तै रौनक छ । ती पसलहरूमा गुलाब तथा बुके किन्नेको भीड बढेको छ । कारण हो– भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस ।
हरेक वर्ष फेब्रुअरी १४ मा संसारभर मनाइने यो दिवसमा संघीय राजधानी काठमाडौंमा रौनक छाएको छ । यही दिनको अवसरमा व्यापारी–व्यवसायीहरूले व्यापार बढाउन विभिन्न योजना पनि ल्याएका छन् ।
कतिपय मलले युवायुवतीलाई आकर्षित गर्न खेल तथा कन्सर्ट आयोजना गरेका छन् । फूल तथा गिफ्ट पसलमा गुलाब स्टिक तथा बुके खरीदमा उपहार दिएका छन् ।
भ्यालेन्टाइन डेमा प्रेमीप्रेमिकाले एकअर्कालाई प्रेमको प्रतीक मानिने गुलाब दिने गरेका छन् । यसले प्रेम सम्बन्ध प्रगाढ हुने कतिपयको विश्वास छ । यससँगै प्रेमीप्रेमिकाले एकअर्कालाई विभिन्न उपहार पनि दिने गरेको पाइन्छ ।