ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खबरदार बैंक !

२०७९ फागुन, १२  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

नेपालमा सबैजसो क्षेत्र स्वच्छ छन् । बैंकिङ मात्र एउटा क्षेत्र छ, जो लुटपाटमा संलग्न छ, समाजमा बेथिति गराइरहन्छ । बाँकी प्रायः क्षेत्रहरू भने नामी छन्, दामी छन् र ज्ञानी छन् । कसरी भन्नुहोला । लौ सुन्नुस् ।

पहिलो त सरकार सबैभन्दा स्वच्छ छ । ऊ कुनै पनि काम कहिल्यै समयमा फत्ते गर्दैन । २ वर्षको आयोजनालाई २० वर्ष लगाउँछ । यसले गर्दा खर्च बढ्छ र सरकार तथा हाकिमहरूले केही न केही पाइरहेकै हुन्छन् । अनि थुप्रैले रोजगारी पनि पाइरहेका हुन्छन् । सरकारको काम गर्ने आफ्नै पारा हुन्छ । सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न बनाउन कम खट्नुपर्छ ? सबै थिति बसाल्न कम्ता गाह्रो हुन्छ ? यस्तो परिवेशमा बैंकले चिटिक्क परेको अफिस बनाएर, सेवाग्राहीलाई चुस्त सेवा दिएर सरकारलाई चुनौती दिने ?

आज बैंकहरूकै कारण सिमेन्ट, छड, औषधिलगायत धेरै क्षेत्रमा देश विनाकाममा आत्मनिर्भर हुँदै गएको छ । हाम्रो उद्देश्य त्यो हो र ? हाम्रो त विप्रेषणमा चल्ने, आयातमा चल्ने मुलुक बनाउने लक्ष्य हैन र ?

अब ठूल्ठूला व्यापार, उद्योग, स्कूल, कलेज, अस्पतालहरूलाई हेर्नुस् । उनीहरू आफ्नो काम र उद्देश्यमा कति धेरै स्पष्ट छन् । उनीहरूको उद्देश्य नै जसरी पनि नाफा कमाउने हो । परिमाण घटाएर, मूल्य बढाएर, एउटा व्यापार गर्छु भनेर भित्रभित्र अर्कै व्यापार गरेर, हिसाबकिताब लुकाएर, अनुशासन तोडेर, नियम मोडेर, जे जे सकिन्छ गरेर । कम्ता गाह्रो हुन्छ यी सबै कुरा मिलाउन ? अहिलेको यस्तो माहौलमा बैंकिङ क्षेत्रले भने तीन तीन महीनामा आफ्नो वित्तीय विवरणहरू प्रकाशन गर्दै अति पारदर्शी बनेर अरू क्षेत्रलाई चुनौती दिइहिँड्ने ? यो त सरासर थिति बिगार्ने प्रयास हो । अनि बैंकहरूलाई तह नलगाई हुन्छ ?

अझ न त कुनै हत्या, हिंसा, धर्म, जाति आदि द्वन्द्वमा संलग्न हुने, न कुनै र्‍यालीमा, न चन्दा संकलनको धन्दा न फिरौती उठाउनेमा । अफिसभित्र बसेर काम गरेर पुग्छ ? मन्त्रालय, पार्टी कार्यालयहरूमा जी हजुरी लाउन जानु पर्दैन ? त्यसै हुन्छ देश सेवा ?

अर्को गम्भीर कुरा, हिजो चैं मान्छेलाई बोलाई बोलाई ऋण दिने, अहिले चैं नदिने ? मागेपछि तुरुन्त भुक्तान गरिन्छ भनेर बैंक नोटमै लेख्या छ । त्यसो भएप्छि ऋण पनि तुरुन्त दिनुपर्दैन ? आर्थिक मन्दी भयो, कोभिड भयो, तरलतामा कमी भयो भन्दैमा बैंकले ऋण दिन सक्दिनँ भन्न पाउँछ ?

गाउँगाउँमा गा छ मान्छेलाई ऋण द्या छ । जलविद्युत्, सिमेन्टदेखि रिसोर्ट, यातायातदेखि डण्डी हरेक क्षेत्रमा लगानी गर्‍या छ । पाँचतारे होटल पनि खोलिहिँड्या छ । आफू पनि बनेको छ, अरूलाई माथि उकासेको छ, त्यस्तो गर्न पाइन्छ ? बैंकको काम नाफा कमाउँदै हिँड्ने हो ? जनतालाई दिएको पैसा फिर्ता मागेर निहुँ खोज्या हो ?

न मन्त्रीको तोक चाहिने, न हाकिमको झोक देखाउने । विनाघुस परियोजना हेरेर स्वाट्ट ऋण सदर गर्‍या छ, नाफा कमा छ । यसरी पनि संस्था चलाउन पाइन्छ ? ल उद्योगी, व्यापारीले विगतमा ३०–४० प्रतिशत नाफा गरे रे । त्यसो भन्दैमा बैंकले पनि १०–२० प्रतिशत नाफा गर्ने ? अझ नगद र शेयर लाभांश पनि बाँडिहिँड्ने ? वातानुकूलित अफिसमा बस्ने, अनि हाकिम भएर तलब धेरै खाने ? सरकारी अफिसमा जस्तो थोरै तलबमा काम गरेर धेरै पैसा टेबुलमुनिबाट कमाउन नहुने ? ऋण वा ब्याज समयमा नबुझाउनेको नाम पत्रिकामा निकाल्ने ? टाइसुट लगाएर गुण्डागर्दी गर्ने ? ऋणीले भने अनुसार कम ब्याजमा खुरुखुरु ऋण दिनु, नतिर्नेलाई मिनाहा दिनु पर्दैन ?

आज बैंकहरूकै कारण सिमेन्ट, छड, औषधिलगायत धेरै क्षेत्रमा देश विनाकाममा आत्मनिर्भर हुँदै गएको छ । हाम्रो उद्देश्य त्यो हो र ? हाम्रो त विप्रेषणमा चल्ने, आयातमा चल्ने मुलुक बनाउने लक्ष्य हैन र ? यहाँ उद्योग, व्यापार फस्टाउँदै गएपछि युवाहरू देशमै बस्छन् । त्यो राजनीतिक हिसाबले कत्ति घातक हुन्छ थाहा छ ?

हुँदा हुँदा बैंकहरूले अनलाइन, अफलाइन, डिजिटल बैंकिङ भन्दै क्यूआर कोड, ईपेमेन्ट सिस्टम भनेर मोबाइल र कम्प्युटरबाटै एउटाको पैसा अर्काको खातामा दिन मिल्ने बनाइसक्या छन् । नोटका गड्डी लिएर हिँड्नु, हातमा थुक लाउँदै पैसा गनेर लिनुदिनुको मज्जा यो अनलाइन बैंकिङले दिन सक्छ ? यस्ता वाहियात काम गर्दै हिँड्ने हो बैंकले ? राष्ट्र बैंकले यस्तो यान्त्रिक हो कि तान्त्रिक कुरामा किन रोक नलगाएको हँ ?

पहिले पहिले बैंकहरू नहुँदा पनि चलेकै थियो । साहू महाजनहरूले यस्सो ख्यास्स एउटा तमसुकको भरमा ऋण दिन्थे । बैंक नै खोलिसकेपछि कागजपत्र नहेरी यसो मान्छे हेरेर ऋण दिए हुन्न ? ल कसैले ऋण तिरेनन् नै भने पनि एउटा नेपालीको पैसा कि त घरमा हुन्छ, कि बैंकमै हुन्छ । दाल कहाँ पोखियो ? भागैमा । यस्तोमा बैंकहरू भने आफू त पारदर्शी भए भए, बैंकहरूकै कारण अरू क्षेत्रलाई पनि पारदर्शितातिर धकेल्दै लान पाइन्छ ? पारदर्शी हुनु भनेको नांगै हुनु हो । सबैलाई नांगै बनाउने ? यो बैंकहरूको व्यभिचार हो कि होइन ?

देशमा आर्थिक मन्दी छाएको बैंकहरू पारदर्शी भएकैले हो । त्यसैले त अहिले मान्छेहरूले मूला र प्याज खाएर बैंकको ऋण र ब्याजको विरोध गर्न थालेका । यो विरोध सर्वसाधारणले मात्र नभै ठूला उद्योग र अस्पताल चलाउनेहरूले समेत गरिरहेका छन् । उनीहरू दिउँसोमात्र होइन, राति राति समेत पिएर विरोध गरिरहेका छन् । प्रायः अरू क्षेत्र करीब करीब बन्द हुँदै गएको अवस्थामा बैंकहरू मात्रै चलाउनुपर्ने किन ? सबैतिर मन्दी आउन थालेको बेला बैंकलाई बन्दै गरिदिन पाए, ‘नरहे बाँस नबजे बाँसुरी’ । अनि त जताततै शान्ति नै शान्ति हुन्छ । हामी सबैले चाहेको त यस्तै शान्ति हैन र ?

त्यसैले आउनोस्, सबै मिलेर भएजति बैंक तथा वित्तीय संस्थाहरू बन्दै गरौं । त्यसो भएपछि हामी पूर्ण समाजवादमा एकैचोटि छलाङ मार्न सक्छौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)