ललितपुर । केही वर्षअघिसम्म ललितपुरको खोकना तोरी फुल्ने सिजनमा पहेंलपुर देखिन्थ्यो । तोरी खेतीसँगै शुद्ध तोरीको तेलका लागि प्रसिद्ध खोकनामा अहिले भने तोरी फुल्ने बारीमा घर ठडिन थालेका छन् । अर्थात् अहिले खोकना आफ्नो पहिचान गुमाउने अवस्थामा छ । यही अवस्था रहे अबको केही वर्षमा खोकनाको तोरी बारी फोटोमा मात्र सीमित नरहला भन्न सकिन्न ।
अहिले खोकनाको तोरी उत्पादन घटेको छ । अहिले यहाँका स्थानीयले आफ्नै परिवारका लागि दुई/चार महीना पुग्ने मात्र लगाउँछन् ।
अहिले खोकनामा स्थानीय उत्पादनको नभई सात समुद्रपारिबाट आयातित तोरी पेल्ने गरिएको छ । खोकना मात्र हैन नेपालमै पनि तोरीको उत्पादन घटेपछि विदेशबाट तोरी मगाउनुपर्ने बाध्यता रहेको तेल मिलका सञ्चालक कान्छा महर्जन बताउँछन् । खोकनाको पहिचान जोगाउनुपर्छ भन्नेहरू अहिले पनि तोरी भुटेर परम्परा धान्न प्रयत्न गर्दै छन् ।
पहिला तेल बेच्न विभिन्न ठाउँमा चहार्ने खोकनाका किसानहरू हिजोआज तेल किन्न विभिन्न ठाउँमा धाउँछन् । केही वर्षअघिसम्म खोकनाबासीको तोरी खेती गर्ने र स्थानीय मिलमा पेलेर तेल बेच्ने मुख्य पेशा थियो । अचेल भने तोरी लगाउनै छाडेको स्थानीय युवा सञ्जय महर्जन बताउँछन् ।
खोकनाबासीले धान भित्र्याउने बित्तिकै तोरी छर्ने गर्थे । पुस-माघमा खोकनाका फाटँहरू पहेंलपुर हुने गर्थे । हिजोआज तोरी लगाउने खेतमा घर, कारखाना, रेष्टुरेन्ट एवं कोलोनी बन्न थालेका छन् । बाँकी रहेको जमीन पनि कि त बाँझै छ कि अन्य खेती हुन थालेको छ । कतिपयले जमीन लिजमा दिइसकेका छन्।
भूकम्पले घरहरू ध्वस्त भएपछि पुनर्निर्माणको लागि पैसा जोहो गर्न तोरीबारी तथा खेतहरू बेचिएका कारण पनि तोरी फुल्ने बारीमा घरहरू ठडिए। सिँचाइको समस्या र सधैं एकै प्रकृतिको तोरी लगाउनु र माटोको परीक्षण नगरिनुजस्ता कारणले पनि तोरीको उत्पादन खस्कँदै गएको महर्जन बताउँछन् । यही क्रम रहे केही वर्षमै तोरीबारीको स्थानमा टहरा र घरले भरिने पक्का छ ।