काठमाडौं । ललितपुरको ग्वार्काे चोकमा ‘फ्लाइओभर’ निर्माण थालिएसँगै ट्राफिक जामको समस्या देखिएको छ । कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत ग्वार्काे चोकको बीच लेनमा सवारीसाधन चल्न नदिएपछि त्यहाँ ट्राफिक जामको समस्या देखिएको हो ।
अहिले चोकमा सडकको दायाँ र बायाँ लेनमा मात्रै सवारी चल्न दिइएको छ । ‘फ्लाइओभर’ निर्माण थालिएपछि पछिल्ला केही दिनयता बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चार पाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिएको छ ।
ट्राफिक जाम बढेपछि आजित भएको यात्रुको दुखेसो छ । चोकमा खटिएका ट्राफिक प्रहरी भने ट्राफिक व्यवस्थापनमा सहज बनाउन लागिपरेको बताउँछन् ।
चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा ‘फ्लाइओभर’ निर्माण गरिने छ, जसअन्तर्गत ग्वार्काे चोकमा पहिलो ‘फ्लाइओभर’ निर्माण हुन लागेको हो । उक्त ‘फ्लाइओभर’को काम १४ महिनाभित्र सक्ने लक्ष्य रहेको छ ।
६ मिटर उचाइ हुने ‘फ्लाइओभर’ अन्तरराष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ । कुल ४५५ मिटरको लम्बाइ हुने ‘फ्लाइओभर’मा ग्राउन्ड क्लियरेन्स ६ मिटर हुनेछ भने सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्याम्प निर्माण गरिनेछ ।