काठमाडौं । यो वर्ष शुरु भएयता विश्वभर प्रविधि कम्पनीहरूमा दिनहुँ हजारौंले जागिर गुमाइरहेका छन् । विश्वभर महँगी बढेसँगै उपभोक्ताहरूको खर्च क्षमता प्रभावित भएको, विश्व अर्थतन्त्र सुस्तउने अनुमान, मुनाफा बढाउन कम्पनीहरूमाझ चलेको खर्च कटौतीको होडबाजी आदिबीच जागिर गुम्ने र गुमाउनेको संख्या बढेको छ । तर, अहिले रोबोटकै जागिर पनि धरापमा परेको छ ।
अमेरिकी सर्च इञ्जिन कम्पनी गुगलको मातृ कम्पनी अल्फाबेटले सय ओटा रोबोटलाई कामबाट निकालेको छ । वायर्डमा छापिएको समाचारका अनुसार अल्फाबेटले कम्पनीको मुख्यालयमा रहेको क्याफेटेरियामा सरसफाइलगायत कामहरू गर्ने रोबोटलाई कामबाट निकालेको हो ।
गुगलदेखि मातृ कम्पनी अल्फाबेटसम्मै खर्च कम गर्ने होडबाजीबीच यस्तो कदम चालिएको हो । यी एक हात भएका अनि पाङ्ग्रा भएका रोबोटहरूले कम्पनीको एभरीडे रोबोट्सका पसलहरूमा क्याफेटेरियको टेबल सफा गर्ने फोहोर छुट्याएर रिसाइकल गर्ने, ढोका खोलिदिने जस्ता कामहरू गर्थे ।
अल्फाबेटले एक वर्षअघि मात्रै अल्फाबेटको एक्स मुनशट ल्याबमा एभरीडे रोबोट परियोजना शुरु गरेको थियो । यीमध्ये कयौं रोबोटहरूलाई ल्याबबाट झिकेर गुगलको बे एरिया फ्याशिलिटीमा उपयोगी काममा लगाइएको थियो । यी रोबोटहरूले कोरोना भाइरसको महामारीको बेलामा कन्फ्रेन्स कक्षहरू सफा गर्ने काम पनि गरेका थिए । यिनीहरूलाई ढोका खोल्ने, कुर्सी राख्ने जस्ता प्रोग्राम हालेर तालिम पनि दिइएको थियो । यी रोबोटको काम गुगलको मुख्यालय सफा राख्ने थियो ।
च्याटजिपिटीको जस्तै प्रविधि प्रयोग गरिएको यो रोबोटले त्यस्तै खालको काम गर्थे । यिनीहरूले कर्मचारीहरूले खाजा ल्याउन दिएको कमान्ड आदि पनि बुझ्न सक्थे अनि कसैले केही पोखियो सफा गरिदेउ भनेपछि सफा पनि गरिदिन्थे । एजेन्सी