ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किन होला ?

२०७९ फागुन, १९  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

आज हरेक नेपालीलाई राजनीतिमा धेरै लगाव छ ।
तर देशसँग राष्ट्रिय नेताको नितान्त अभाव छ ।
यहाँ गरीबी हटाउने भनेर सबैले राजनीति गरिरहेका छन् ।
तर गरीबका नाममा केवल आआफ्नै पेट पो भरिरहेका छन् ।
त्यो राजनीतिबाट न कुनै गरीब सुखी र खुशी देखिन्छन् ।

न त धनी, न त उद्योगी व्यवसायी,
न त सरकारी हाकिम वा कर्मचारी ।
सांसद मन्त्री बन्यो भने हरेक दिन मन्त्रालय जान हतारिन्छ ।
सांसद मात्रै रहुन्जेल भने हाटा गरेर भत्ता मात्र पक्का गर्छ ।  
किन होला ?

 

 

जता हेर्‍यो, त्यतै घोटालै घोटाला छ,
हजारौं लाखौंको होइन, करोडौं, अर्बौंको हवाला छ ।
त्यत्रो धन नेताहरूले के गर्छन् होला, सोचेरै हैरान छु ।
आफू भने कसरी बाँच्ने, सर्वसाधारण
कसरी बाँच्लान् भन्नेमै परेशान छु ।

पहुँचवालालाई त सरकारले करोडौं रुपैयाँ
सित्तैमा दिन्छ पटक पटक ।
सत्ता र भत्ताकै लागि गठबन्धन बनाउने र तोड्ने
चलिरहन्छ चटकै चटक ।
निमुखालाई चैं भित्तैमा पुर्‍याउने पटक पटक ?
किन होला ?

हिजोसम्म कुकुरहरूसँग जो लड्थे अगाडि हुन्थ्यो हड्डी,
आज तिनै कुर्सीका लागि आपसमा लड्दै छन् कबड्डी ।
हिजो जो दुई छाक खान र एकसरो लाउनकै लागि थिए लाचार,
आज एकअर्कोको पेटमाथि पो भएछन् सवार ।
समयले सबैको गर्ला नै हिसाब किताब ।
तर त्यो त पछिको कुरा न हो ।
निमुखाले भोगिसकेको त्रासदीको चाहिँ कसले
र कहिले गर्ला हिसाब ?

कुरा चैं जहिले पनि एउटा सुनौलो भविष्यकै हुन्छ ।
र सरकारचैं जहिले पनि भोका नांगाकै बन्छ ।
तर भोका नांगाहरू रोई नै रहने अवस्था हुन्छ ।
किन होला ?

हुन पनि हो ।
जिन्दगीभरि भोको कोही जब चुनाव जितेर आउँछ,
उसले आफ्नै पेट भर्ने उपायबाहेक अरू के गर्छ ?
त्यसैले त नाँगा, लफंगा, लुटेराहरू मन्त्री बन्छन् ।
अनि नांगोले जीउभरि कपडा लाउँछ र अपराधीले
आफ्नो रेकर्ड सुधार्छ ।
अरूको भने केही हुन्छ कि भन्ने आशैआशमा दशकौं यसै खेर गए ।
तर बलात्कारीहरू एक एक गर्दै जेलबाट त्यसै छुट्ने धेरै भए ।
किन होला ?

सभा, गोष्ठीका नाममा जलपान, झोलपान गर्ने उनीहरू ।
गरीब, दलितका कोटाका लाभ झोलामा भर्ने उनीहरू ।
यहाँसम्म कि जेलमै बस्नुपरे पनि
त्यहीँ फाइभ स्टार होटलको सुविधा लिने पनि उनीहरू ।
हामीले मन्त्र पढेर ल्याएको यो कस्तो तन्त्र हो ?
जनता सधैं दुविधामा नेताहरू सुविधै सुविधामा ।
किन होला ?
सर्वसाधारणका लागि अब त दुई छाक खाने
सुविधाको पनि अभाव छ भारी ।
यो लाचारीमा पनि नेताकै छ लावालस्करसहित विशेष सवारी ।
यस्तोमा यो सुशासन र विकासको नारा किन खोक्ने ?
विकास गर्छु भनेर फुँइ लाउनेले फेरि
संसद्मा जाँदा घाटाको बजेट ब्रिफकेसमा बोक्ने ।
किन होला ?

अहिलेसम्म सरकारी अर्थशास्त्र र विकासको मोडल यस्तोे देखिन्छ–
जग्गाजमीन बेचेर गाडी, मोटरसाइकल किन्ने ।
रेमिट्यान्स ल्याएर टीभी, फ्रिज र स्मार्टफोन किन्ने  ।
गाउँको पुर्खाको सम्पत्ति बेचेर शहरमा डेरामा बस्ने वा
गाउँको जग्गा बेचेर विदेश गई कमाएर फेरि शहरमा जग्गा किन्ने ।
दुईचार पैसा कमाउने चाहिँ स्वीट्जरल्याण्ड वा थाइल्यान्डतिरै घुम्न हिँड््ने ।
यस्तो किन होला ?

नाटक र चलचित्रमा पहिल्यै लेखिएको हुन्छ स्क्रिप्ट
सोहीअनुसार नै अभिनय गरिन्छ भन्ने हामी सबैलाई छ स्पष्ट ।
तर पनि हलमा गएर ताली ठोक्न छाड्दैनौं ।
त्यस्तै, राजनीतिक नाटकमा टपर्टुइयाँ नेताका
बकवास गालीमा ताली पिट्न छाडेका छैनौं ।
यस्तै तालीले त तिनलाई जाली बनाको होला ।
तैपनि यस्तैले अझै यो देश बनाउँछन् भनेर विश्वास छाडेका छैनौं ।
हैन, नेपालीलाई यस्तो के भाको र किन होला ?

देशमा जो भेट्यो, उही देश बिग्य्रो, बर्बाद भयो भनेर छक्कै
यो बर्बाद पार्ने चाहिँ को होला ? अर्कै ग्रहको नेपाली कि हामी आफै ?
ढुंगा, माटो र पानीले बनेको देश त कसरी बिग्रन्थो होला र ?
बिग्रेको त हामी जनता नै हौं, अरू को होला ?

हामी घरको फोहोर जथाभावी फ्याँक्ने
अनि सरकारले सफा गरेन भन्दै सराप्ने ।
आफू वरको सिन्को पर नसार्ने
अनि अर्काले गरेन भन्ने ।
आफू एक इन्च जमीन नछाड्ने
अनि बाटो फराकिलो चाहिने ।
आफू चाहिँ आफ्नै स्वार्थमा अल्झिने
अरूलाई भने भगवान् जस्तो भइदेओस् भन्ने ।
सबैभन्दा पहिले त हाम्रो नियत
र चरित्र पनि त सफा हुन छ आवश्यक ।
नियत सफा भएपछि शहर त आफै सफा भैहाल्छ ।
यति सामान्य कुरा पनि बुझ्न नखोज्ने हाम्रो रबैया छ ।
किन होला ?

हाम्रो देशमा जुनसुकै दलको भए पनि
जो सुकै सरकारमा गए पनि
सरकारहरू एउटा कुरामा भने अत्यन्त सफल छन् ।
हरेक पटक सिन्को नभाँची आफ्नो कार्यकाल सिध्याइदिन्छन् ।
सधैं यस्तो किन होला ?

किनकि
सच्चा नियत तिम्रो न थियो, न छ, न हुनेछ
काममा इमान तिम्रो न थियो, न छ, न हुनेछ
तिम्रो धन्दा नै हो कि तिमी जनताको पाकेट मारिरहन्छौ
तर पनि माफी माग्ने बानी तिम्रो न थियोे, न छ, न हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)