काठमाडौं । राउण्ड टेबल नेपालले विश्व मोटोपना दिवस अर्थात् मार्च ४ को सन्दर्भ पारेर शनिवार विहान काठमाडौको बसन्तपुर परिसरमा ‘फाइभ–के फन रन’ आयोजना गरेको छ । उक्त प्रतियोगिता अन्तरगत १ हजार जनाको दौडमा सहभागिता रहेको थियो । दौड शुरू हुनुभन्दा पूर्व सहभागीहरूले प्रतिभा तथा समूहको तालमा जुम्बा नृत्य पनि गरेका थिए । दौडको शुरूवात म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले सिठी बजाएर गरेका थिए । प्रतियोगितामा सहभागीहरुले बसन्तपुर, न्यूरोड,जमल, रत्नपार्क,भद्रकाली, सुन्धारा परिक्रमा गरेर बसन्तपुरमा पुगी दौड समाप्त गरेका छन् । सहभागीहरुलाई आयोजकहरुको तर्फबाट प्रमाणपत्र तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागिताका लागि रू. २०० दर्ता शुल्क तोकिएको थियो । विगतमा निःशुल्क सहभागिता गराउँदै आएकोमा यो वर्ष भने अर्टिजम भएका बालबालिकाका लागि देशैभरी कार्यक्रम गर्ने उद्देश्यले २०० रुपैयाँ दर्ता शुल्क तोकिएको एनआरएस स्पोर्टसकी अध्यक्ष बागमती राईले जानकारी दिइन् ।
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष मार्च ४, आजको दिनलाई मोटोपना दिवसका रुपमा मनाउँदै आएको छ । यस वर्षको विश्व मोटोपना दिवसको नारा ' मोटोपना बारे कुरा गरौं ' रहेको छ ।
राउण्ड टेबल नेपाल १८ देखि ४० वर्ष उमेर समूहका गैरराजनीतिक र गैरसाम्प्रदायिक युवाहरूको संगठन हो । यसले ‘मिशन नेपाल’अन्तर्गत शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा पछाडि परेका समुदायलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
तस्वीरहरू : सुनिल शर्मा/ आर्थिक अभियान