काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१औं वार्षिक साधारणसभा शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा बसेको सभाले शेयरधनीलाई १५ प्रतिशत बोनस र ६ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरणको प्रस्ताव पारित गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७८/७९ मा रू. २९ करोड ५ लाख १४ हजार ११० रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिएको छ । सो अवधिसम्ममा संस्थाको कर्जा लगानी रू. २० अर्ब ७० करोड ५० लाख र बचत रू. १२ अर्ब ६९ करोड ७ लाख रहेको छ । संस्थाले ६१ जिल्लाका १४५ शाखा/उपशाखा कार्यालय तथा ९ ओटा इलाका कार्यालयमार्फत २ लाख ६३ हजार ७० महिला ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।