कार्यालयमा काम गरिरहेको समयमा सहकर्मीले बाधा पुर्याउने गरेको अनुभव प्रायः सबै कर्मचारीहरूमा हुने गरेको छ । वालष्ट्रीट जर्नलको ‘वर्क एण्ड फ्यामिली’ स्तम्भमा प्रकाशित एक अध्ययनले यस्ता समस्याबाट छुटकारा पाउने तरीकाबारे बताएको छ । कार्यालयमा काम गरिरहँदा सहकर्मी आएर अन्य कुरा गर्दै अल्मल्याउने प्रवृत्तिबाट छुटकारा पाउन अधिकांश मानिसले आफै प्रयास गर्ने गरेका छन् । कतिपयले यस्तो परिस्थितिबाट उम्कन कन्फरेन्स हलमा जाने वा ध्यानपूर्वक गर्नुपर्ने काम छ भने घरैबाट समेत गर्ने गरेका छन् । तर, यस्तो समस्या त्यसरी एक्लै भएरभन्दा समूहमा बसेर छलफल गर्दा नै सजिलै समाधान हुन्छ भन्नेमा अधिकांश कर्मचारी र परामर्शदाताहरूको एकमत रहेको छ ।
काममा बाधा गर्नु ठूलो समस्या हो भन्ने विषयमा सबै सहकर्मीसँग बसेर स्पष्ट कुराकानी गर्नु यो समस्याको राम्रो समाधान हो । त्यस्तै आफू गहिरो सोच र अध्ययनमा लागेकोबारे कर्मचारी समूहले केही सङ्केतको पनि प्रयोग गर्न सक्छन् । यसले कुनै ठूलै आपतकालीन स्थिति नआएसम्म उनीहरूलाई ‘डिष्टर्ब’ गर्न नहुनेबारे कर्मचारीलाई सजग रहन सहयोग पुर्याउँछ । अमेरिकाको कोलोराडोस्थित एक पेय पदार्थ कम्पनीका करीब ३० कर्मचारीहरू आफ्नो कार्यकक्ष (क्युबिकल)को ढोकामा माछा मार्नेे बल्छीको डोरी टाँगेर त्यसमा चहकिलो रङको कपडा झुण्ड्याउँछन् । यस्तो देखेपछि अरू कर्मचारीहरू त्यो क्युबिकलको कर्मचारीलाई डिष्टर्व गर्दैनन् । पर्दा उठेपछि कर्मचारीहरूको ध्यान महत्वपूर्ण विषयबाहेक अन्य कामबाट हटेको थियो ।
त्यसैगरी एक निर्माण कम्पनीमा भने कर्मचारीहरूले आफ्नो हातमा सुन्तला रङको ब्याण्ड बाँधेर यस्तो सङ्केत दिने गर्छन् । उत्पादक प्रशिक्षक, लेखक तथा वक्ता लउरा स्ट्याकले यो समस्याको समाधान निकाल्न आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएकी छन् । जस्तै– पहिलो प्राथमिकतामा आपतकालीन र तत्काल समाधान गर्नुपर्ने विषय पर्छन् । दोस्रो प्राथमिकतामा तत्कालै सङ्कटको रूप लिनसक्ने कुरा पर्छन् । त्यस्तै प्राथमिकता ४ मा भने पेशागत शोखहरू पर्छन् । सहकर्मीहरू कस्ता कुरा तत्काल गर्न जरुरी छ भन्नेबारेमा सहमत भए भने उनीहरूले काममा बाधा गर्न स्वतः कटौती गर्न सक्छन् ।
धेरै मानिसहरूले आफू काम गरिरहेको समयमा आफ्ना सहकर्मी आएर काममा बाधा उत्पन्न गराउने गरेको बताउँछन् । उनीहरूले त्यस्ता मानिसबाट आफू बँच्न नसकेको गुनासासमेत पोख्ने गर्छन् ।
यसबाट बँच्न मानिसबाट कर्मचारीहरूले बोलीभन्दा पनि अन्य उपायहरूको प्रयोग गरेको पाइन्छ । यस्ता मानिसलाई नरमसँग आफू काममा व्यस्त रहेको र तत्काल ऊसँग कुरा गर्न नसक्ने बताउनुपर्ने उत्पादकत्वसम्बन्धी वक्ता तथा प्रशिक्षक मउरा थोमसको भनाइ छ । यो सन्देश सबैमाझ पुगेपछि उनीहरूको काममा बाधा उत्पन्न गराउने प्रवृत्ति हट्दै जाने थोमसको बुझाइ छ ।