काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त मालीगाउँ र जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई विभिन्न सामग्री सहयोग गरेको छ । बैंकले प्रहरी वृत्त मालीगाउँलाई चेकिङ बोर्ड, सामाजिक जनचेतनामूलक पुस्तिका, आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर र मास्क हस्तान्तरण गरेको हो । मालीगाउँ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन र रात्रिकालीन समयमा प्रहरी चेकिङमा सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री सहयोग गरेको बैंकले जानकारी दिएको छ ।
त्यसैगरी बैंकले जिल्ला प्रहरी कार्यालय, काठमाडौंलाई फ्लोरेशन ज्याकेट हस्तान्तरण गरेको छ । रात्रिकालीन समयमा सडकमा खटिएका प्रहरीको जोखिम व्यवस्थापनमा सहयोग पुर्याउन उक्त सहयोग प्रदान गरेको हो । आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमलाई निरन्तरता दिने बैंकको भनाइ छ ।