काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २२औं स्थापना दिवस एक कार्यक्रम गरी शनिवार मनाएको छ । कार्यक्रममा कृषि विकास बैंकका पूर्वअध्यक्ष श्रीकृष्ण उपाध्यायले ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारीका सदस्य किसानलाई उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषिका कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले संस्थाले साना किसान कृषि सहकारी संस्थामार्फत सदस्यलाई सेवा प्रदान गर्दै आएको स्पष्ट पारे । अहिले १ हजार ४५९ साझेदार साना किसान कृषि सहकारीमार्फत संस्थाले सेवा प्रवाह गरिरहेको जानकारी दिँदै उनले आफ्नो सञ्जालका संस्थामा बजारमा भनिएजस्तो समस्या नरहेको दाबी गरे ।
कार्यक्रममा साझेदार सहकारी संस्थामध्ये सर्वोत्कृष्ट संस्थाका रूपमा ‘परिवर्तन महिला साना किसान कृषि सहकारी संस्था’ गुमी सुर्खेतलाई पुरस्कृत गरिएको छ । यसैगरी हेटौंडा इलाका कार्यालय उत्कृष्ट इलाका कार्यालयको रूपमा पुरस्कृत भएको छ ।