काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच वैदेशिक रेमिट्यान्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्ने सम्बन्धमा शुक्रवार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि रेमिटमार्फत विश्वका विभिन्न स्थानबाट बैंकिङ च्यानलमार्फत पठाएको रकम नेपालमा रहेका सम्बन्धित व्यक्तिलाई बैंकको शाखा कार्यालयमार्फत सहज भुक्तानी दिइनेछ । यसले नेपालमा वैदेशिक मुद्रा आर्जन गर्न थप सघाउ पुग्ने बैंकको विश्वास छ । सम्झौता कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उपकार्यकारी अधिकृत दुर्गा कँडेल, भुक्तानी तथा फछ्र्योट विभागका विभागीय प्रमुख ऋषिराम ढकाल र रेमिटका नायब महाप्रबन्धक देवबहादुर थापाको उपस्थिति थियो । बैंकले २६५ ओटा शाखा कार्यालय, ४६ ओटा एक्सटेन्सन काउन्टर, २६९ ओटा एटीएम र ९९ ओटा शाखारहित बैंकिङ इकाई मार्फत सेवा दिँदै आएको छ ।