काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सहायक प्रशासन सेवाका नवनियुक्त ११७ जना कर्मचारीलाई आइतवारदेखि १४ दिने पूर्व सेवाकालीन तालीम काठमाडौंमा शुरू गरेको छ ।
तालीमको उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकका ग्राहकलाई आधुनिक गुणस्तरीय बैंकिङ सेवा दिई संस्थाको उत्पादकत्व वृृद्धि गर्न युवा जनशक्ति उपयोग हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवनियुक्त कर्मचारीलाई कार्यस्थलमा जिम्मेवारी वहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त कर्मचारीलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू देवेशप्रसाद लोहनी, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुख पद्मा लक्ष्मी जि.सी.लगायत कर्मचारीको उपस्थिति थियो ।