ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामसङलाई पछि पार्दै नेपालमा सर्वाधिक विक्री हुने मोबाइल ब्रान्ड बन्यो साओमी

२०७९ चैत, ७  
समाचार प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

काठमाडौं । नेपाली बजारमा सामसङको बजार खोस्दै चिनियाँ मोबाइल साओमीले सबैभन्दा बढी बजार हिस्सा ओगटेको छ ।

विश्वव्यापी रूपमा मोबाइल विक्रीको तथ्याङ्क राख्ने स्टार्टकाउन्टर डट कमका अनुसार गत वर्षको अप्रिल महीनासम्ममा नेपाली बजारको ३२ दशमलव ६१ प्रतिशत बजार हिस्सा ओगटेको सामसङको ओरालो यात्रा फेब्रुअरीसम्म निरन्तर जारी छ । फेब्रुअरीमा आइपुग्दा सामसङको बजार हिस्सा २७ दशमलव ४१ प्रतिशतमा सीमित भएको छ ।

गत वर्षको अप्रिल महीनामा साओमीको बजार हिस्सा २५ दशमलव ६८ प्रतिशत थियो । गत मे महीनासम्म निरन्तर ओरालो लागेको साओमीको बजार हिस्सा २३ दशमलव ९५ प्रतिशतमा झरेको थियो । तर पछिल्लो ९ महीनामा साओमीले आफ्नो बजार उकास्दै जाँदा अहिले फेब्रुअरीमा आइपुग्दा २७ दशमलव ४१ प्रतिशत पुर्‍याएको छ । सामसङले करीब ५  प्रतिशत बजार गुमाउँदा साओमीले ४ प्रतिशत बजार बढाएको छ । बाँकी बजार अन्य फोनहरूले लिएका छन् ।

साओमीका स्मार्ट फोनहरू न्यूनतम ११ हजार रुपैयाँदेखि अधिकतम ९० हजार रुपैयाँसम्मका छन् । यसका अधिकांश फोनको मूल्य ५० हजार रुपैयाँभन्दा कम छ । अहिले उपभोक्ताको रोजाइमा यिनै फोनहरू परेको व्यवसायीले बताएका छन् ।

नेपालमा मिड रेञ्जका स्मार्टफोन  विक्री गर्दै आएको सामसङलाई तुलनात्मक रूपमा सस्ता स्मार्टफोन विक्री गर्दै आएको साओमीले पछि पारेको हो । सामसङका स्मार्टफोनहरू भने न्यूनतम १४ हजार रुपैयाँदेखि अधिकतम २ लाख ४५ हजार रुपैयाँसम्मका छन् । सामसङका दर्जन बढी मोडलहरू १ लाख रुपैयाँभन्दा बढी मूल्यका छन् ।

सरकारले ६०० डलर भन्दा बढी मूल्य रेञ्जका मोबाइल आयातमा प्रतिबन्ध लगाएपछि महँगा मोबाइलले बजार हिस्सा गुमाउँदै गएका थिए ।  

नेपाली बजारमा रहेका अन्य ब्राण्डका फोनले भने उपभोक्ताको मन त्यति धेरै जित्न सकेका छैनन् । पछिल्लो एक वर्षमा ओप्पो, भीभो, हुवाई लगायतका ब्राण्डले बजार गुमाउँदा चिनियाँ ब्राण्ड रियलमीले भने करीब २ प्रतिशतले बजार बढाएको छ ।

नेपालमा महँगा फोन मित्र्याउने ब्राण्डमध्ये सामसङ पनि एक हो । उसका दर्जन बढी मोडेलका महँगा स्मार्ट फोन नेपाली बजारमा विक्री हुँदै आएका थिए । सरकारले लगाएको प्रतिबन्धपछि कम मूल्य रेञ्जका फिचर्स फोनमा साओमीप्रति उपभोक्ता आकर्षित भएका हुन् । 

नेपाली बजारमा ३ कम्पनीका मोबाइलले मात्रै झण्डै दुईतिहाइ अर्थात् ६६ प्रतिशत बजार ओगटेका छन् ।

नेपालमा हाल सबैभन्दा धेरै साओमीका मोबाइल विक्री भइरहेका छन् भने दोस्रोमा कोरियन कम्पनी सामसङका मोबाइल विक्री भइरहेका छन् । त्यस्तै तेस्रो ठूलो बजार हिस्सा पाउने ब्राण्डमा एप्पल रहेको छ । यस मध्ये एप्पलले झण्डै १२ प्रतिशत बजार पाउँदा सामसङ र साओमीले मात्रै नेपाली बजारको ५५ प्रतिशत हिस्सा ओगटेका छन् ।

भन्सार कार्यलयको तथ्याकं अनुसार गत साउनदेखि माघ महीनासम्म १४ अर्ब ७६ करोड ८३ लाख ५० हजार मूल्यका १० लाख ५ हजार १३५ थान स्मार्टफोन नेपालमा आयात भएका छन् । सरकारले गत पुष १ गते देखि आयात खुल्ला गरे यता २ महीनामा मात्रै २ लाख १ हजार स्मार्टफोन आयात भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)