काठमाडौं । बेलायतको हाउस अफ कमन्सका प्रतिनिधि र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समूहले एनएमबि बैंकको अवलोकन भ्रमण गरेका छन् । इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा आएको टोलीले गत फागुन ३० मा भ्रमण गरेको हो ।
भ्रमण टोलीले बैंक र इन्भेष्टमेन्टसगँको सहकार्यपश्चात् भएको प्रगतिबारे जानकारी लिएको बताइएको छ । बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो बैंकिङ अभ्यासको जानकारी लिनु भ्रमणको उद्देश्य रहेको बैंकले जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमणका प्रतिनिधिलाई बैंकले दिगो बैंकिङ अभ्यासको कार्यान्वयनपश्चात् गरेको प्रगति विवरणबारे जानकारी गराएका थिए । नेपालको दिगो तथा समावेशी आर्थिक विकासबीच रहेको स्रोत साधनको अन्तर पूर्ति गर्न इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदानको महत्त्व तथा आवश्यकता रहेको बताएका थिए । साथै, भ्रमणका प्रतिनिधिहरूले बैंकले विभिन्न परियोजना तथा कार्यक्रममार्फत समुदाय विकासमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।