सरकारहरूले जनताको सुखसुविधाका लागि यति धेरै काम गरिरहेका छन् कि त्यो गनेर र भनेर भ्याइन्न । तर जनता त्यो देख्दैनन् । सधैं सरकारप्रति गुनासो मात्र गरिरहन्छन् । तिनले सरकारको तारिफ कहिल्यै गर्दैनन् । सरकारको प्रशंसा गर्ने काम केवल केही चाटुकार र सरकारबाट फाइदा लिइरहेका वा लिने लाइनमा भएका केही सीमित भक्तजनकोमा मात्र सीमित रहन्छ । जनताले नदेख्ने गरी थाहै नपाउने गरी सरकारले जनताका लागि के के गर्छ वा गरिरहेको छ र भन्नुहोला ।
पहिलो काम त सरकारले जनताबाट कर उठाउँछ । कर गरी गरी घरघरबाट कर उठाएको उठायै छ । जनता ऋणमा डुबून् कि शोकमा परून् कि भोकमा मरून्, सरकार करको शौख छाड्दैन । सरकारलाई थाहा छ कर उठाएन भने मानिसहरू अल्छी हुन थाल्छन् । कामै गर्दैनन् । आफ्ना जनतालाई अल्छी बनाउन त भएन नि !
चेलीबेटीहरूलाई समेत जिउँदै मर्ने अवसर त छिमेकी देशमै उपलब्ध गराइराखेको छ सरकारले । कतिपयलाई विदेशका जेलमा सड्ने अवसर छ । कफिन बाकसमा स्वदेश फिर्ने सुविधासमेत सरकारले मिलाएको छ ।
अर्को काम, सरकारले जसरी हुन्छ महँगी बढाउँछ । महँगी बढ्नु भनेको अर्थतन्त्र बढ्नु हो रे । भनेको, जनताको किन्ने क्षमता बढ्नु हो । अर्थात् जीवनस्तर बढ्नु हो । जब महँगी बढ्छ, तब जनता अझ बढी सक्रिय, अझ बढी सृजनशील हुन बाध्य हुन्छन् । यो अर्थशास्त्रको, खासगरी नेपाली सरकारी अर्थशास्त्रको एउटा सिद्धान्त हो, जसले नोबेल पुरस्कार चाँडै पाउनेवाला छ ।
सबैभन्दा महङ्खवपूर्ण काम त हाम्रो जस्तो सरकारले जनतालाई विभिन्न परिस्थितिहरू सृजना गरिदिएर आत्महत्या गर्नेसम्मको सुविधा प्रदान गरिरहेको हुन्छ । जनसंख्या बढी भएपछि घटाउने यो आइडिया विश्वकै उत्कृष्ट हो । माल्थस जस्ता अर्थशास्त्रीले पत्ता लगाएको यो सिद्धान्त नेपालले नमान्ने कुरा हुन्छ र ? तर, केही समययता भने सरकार पूर्ण सरकार जस्तो बन्न सकेको छैन । त्यसैले होला सरकारले धेरैलाई आत्महत्या गर्ने सुविधाबाट समेत वञ्चित गरिरहेको देखिन्छ ।
पहिले पहिले जताततै रुखैरुख हुन्थे । आत्महत्या गर्न चाहने जीवले जुन रुखमा पासो लगाए पनि हुन्थ्यो । तर, अब रुखमा पुग्न समय लाग्ने भएको छ । अहिले आफू नजिकका रुखका ठाउँमा कि घर उम्रेका छन् कि त बाटाघाटा घुम्रेका छन् । शायद त्यसैले मानिसहरूको आत्महत्या गर्ने अधिकारको संरक्षणका लागि ‘दीर्घायु आत्महत्या एशोसिएशन’ अनौपचारिक संस्था स्थापित भएको छ । उसले सरकारसँग धेरैभन्दा धेरै रुखहरू लगाइयोस्, ताकि पल पल मरिरहनुभन्दा एकैचोटि सजिलै मर्न पाइयोस् भनेर जोडदार माग गरिरहेको छ । काठमाडौंमा जनताले आत्महत्या गर्ने रानीपोखरी पनि तारबार लगाएर बन्द गरिदिएको छ । त्यो पनि खुलाउनुपर्छ भन्ने माग छ ।
एशोसिएशनका अनुसार अहिले जनताका लागि सरकारले मर्ने कुरामा विकल्पहरू दिन चुकेको छ । तर यस कुरामा म सहमत छैन । सरकारले जनताहरूलाई मर्न वा आत्महत्या गर्नका लागि झन् नयाँ नयाँ र धेरै विकल्पहरू दिइरहेको छ । जो रुखमा झुन्डन सक्तैनन्, उनीहरू तुइनमा झुन्डन सक्छन् । नत्र ती बस, जीप वा ट्र्याक्टरमा झुन्डिएर नेपालको कुनै सडकमा जान सक्छन्, जहाँ सजिलै मर्ने सम्भावना रहन्छ । कतिपय अवस्थामा प्लेनमा उड्न सक्छन् । प्लेनमै सिद्धिन सक्छन् । प्लेन चढ्नुअघि सामान्यतया ४–६ घण्टा, नत्र दिनैभरि समेत विमानस्थलको प्रतीक्षालयमा पाए बेन्चमा नभए भुँइमा आरामसँग पल्टिएर बस्ने सुविधा समेत दिएको छ सरकारले । यति गर्दा पनि सरकारले सुविधा दिएन भन्न मिल्च ?
अझ देशमा मर्न नचाहनेहरूलाई विदेशमा विभिन्न कानूनी, गैरकानूनी बाटोबाट समुद्रको बाटो हुँदै गएर उतै मर्ने अवसर दिएको छ । चेलीबेटीहरूलाई समेत जिउँदै मर्ने अवसर त छिमेकी देशमै उपलब्ध गराइराखेको छ सरकारले । कतिपयलाई विदेशका जेलमा सड्ने अवसर छ । कफिन बाकसमा स्वदेश फिर्ने सुविधासमेत सरकारले मिलाएको छ । यो सबै गर्न सरकारले मन्त्रालय नै खडा गरेको छ । विदेशस्थित कूटनीतिक नियोगहरू परिचालन गरेको छ । यस्तो महान् कार्य गर्ने सरकार छ कतै विश्वमा ?
त्यसो त हाम्रा सरकारहरू, प्रशासन संयन्त्र सबै सबै जनतालाई मर्नका लागि राम्रै सुविधा दिइरहेका छन् । एउटा सानो काम गर्नका लागि दर्जनौं पटक धाउनु, हाकिमहरूलाई साष्टांग दण्डवत् टक्र्याउनु, साथमा नैवेद्यभेटी चढाउनुपर्ने जस्ता कुराहरू भनेकै सरकारले आत्महत्या गराउने निर्धारित लक्ष्य पूरा गर्नकै लागि बनाइएका परम्परा त हुन् ।
पानीको आपूर्ति प्रणालीमार्फत दूषित पानी दिएर होस्, पानी नदिएरै होस् वा सडकमा खाल्टाखुल्टी बनाइराखेर होस् जनतालाई मर्नुपर्ने वातावरण सरकारले तयार गर्दिराखेकै छ । अझ विषादीको परीक्षण नगरी तरकारी बेच्न दिएर होस्, छिमेकबाट अति सजिलै अत्यन्त विषादीयुक्त खाद्यान्न, फलफूल र तरकारी निर्बाध भित्रन दिएर होस् वा खाद्य पदार्थमा मिसावट गर्न दिएर उसले मर्नका लागि सहज बाटो बनाएको बनायै छ । छिमेकबाट बेरोकटोक औषधिका नाममा छिर्ने विषका विषय त अब कसैको पनि सरोकारको विषयसम्म पनि रहेन । योभन्दा उपयुक्त मर्ने सुविधा जनताका लागि अरू के हुन सक्छ ?
सरकारले जनतालाई आफूखुशी आत्महत्या गर्न सक्ने यति धेरै सुविधाहरू दिएको छ कि विदेशीहरू हाम्रो व्यवस्था देखेर अक्क, बक्क र छक्क पर्छन् । अहिले त झन् देशैभरि चौर, ताल, जंगलहरू सपाट मैदानमा परिवर्तित भैसकेका छन् । पानी सुकेका कारण थुप्रै ढुंगेधारा, इनार, कुवा खाली खाली छन् । आत्महत्याकांक्षीका लागि नडुबीकन स्वर्ग जान पाउने यीभन्दा राम्रा अवसर अरू के हुन सक्छन् र ?
हिजोआज शिक्षालयहरूमा खुलेआम खुकुरी प्रदर्शन र प्रहार सामान्य कुरा भए । सरकारले आत्महत्या गर्नेहरूका लागि अस्पतालहरू समेत खोलिदिएको छ । कोही आत्महत्या गर्न चाहन्छ भने कुनै अस्पतालतिर लागे हुन्छ । केही देशले बल्ल अस्पतालमा आत्महत्या गर्न अनुमति दिएको समाचार आएको छ । हाम्रो देशमा त उहिल्यैदेखि यस्तो सुविधा छ । अस्पतालले पहिले आत्महत्याकांक्षीको खल्ती खाली गराउँछ, अन्त्यमा आत्महत्या । भलै, गरीबहरूका लागि पनि अस्पताल बाहिरै मर्ने सुविधा पनि समावेशी सरकारले दिइराखेकै छ ।
यसरी सरकारले मान्छे जन्मेदेखि नै मर्नुअघिसम्म पनि अनेक प्रकारले मर्न सक्ने सुविधा प्रदान गरिरहेकै छ । जनतालाई आत्महत्या गर्न वा मर्नका लागि अझ थुप्रै तानाबानाहरू बुनिरहेका खबरहरू पनि आइरहेकै छन् । जन्मन त सजिलै छ । तर मर्न त्यति सजिलो काँहा छ र ? यस्तोमा सरकारले जनतालाई मर्नका लागि सजिलो बनाइदिने जस्तो पवित्र काम अरू के हुन सक्छ ? धन्य छ सरकार । धन्य छ सरकारको जनताप्रतिको कर्तव्यबोध ! तब न हामी भाग्यमानी नेपाली !