काठमाडौं । ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको छ । यसअघि भाइटीकाको दिन मात्रै सर्वसाधारणका खुला गरिने रानीपोखरी गत बुधवारबाट सधैंका लागि खोलिएको हो ।
त्यसअघि रानीपोखरीलाई सरसफाइ गरेर चिटिक्क पारिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार अब रानीपोखरीमा सर्वसाधारण बिनाटिकट अवलोकन गर्न जान पाउनेछन् । अब रानीपोखरीमा सर्वसाधारणलाई बिहान ६ बजेदेखि ८ बजेसम्म २ घण्टा घुमफिर र अवलोकन गर्न दिइनेछ ।
२०७२ को भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरी रानीपोखरीलाई पुरानै स्वरुप दिइएको थियो । तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७८ पुस ८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।
सन्तान शोकमा डुबेकी आफ्नी रानीलाई शोकबाट मुक्त गरी व्यावहारिक जीवनमा फर्काउनका लागि १७२६ सालमा कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले रानीपोखरी निर्माण गर्न लगाएका थिए ।