ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इच्छाकामनाको सबैभन्दा धेरै आम्दानी केबुलकारबाट

२०७९ चैत, १४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले चालू आर्थिक वर्षको आठ महीनासम्ममा सबैभन्दा धेरै आम्दानी मनकामना केबुलकारबाट गरेको छ । पालिकाले सार्वजनिक गरेकोे आम्दानी विवरणअनुसार ६६ लाख ३६ हजार ५६६ रुपैयाँ आम्दानी गर्दा केबुलकारबाट मात्र ४३ लाख ३४ हजार ७१९ रुपैयाँ आम्दानी गरेको हो ।

‘अहिलेसम्म हरेक वर्ष पालिकाको सबैभन्दा ठूलो आम्दानीको स्रोत भनेकै केबुलकार हो,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले भने, ‘समग्रमा केबुलकारले गाउँपालिकाको आर्थिक स्रोत संकलनमा ठूलो भूमिका निर्वाह गरेको छ  ।’ त्यस्तै दोस्रो बढी आम्दानीको स्रोत जलविरे झरना हो । प्रमुख प्रशासकीय अधिकृत भुसालले जलविरे झरनाबाट आठ महीनामा १४ लाख ६५ हजार ४३० रुपैयाँ आम्दानी भएको बताए ।

जलविरे झरना पालिकाभित्रको पर्यटकीय गन्तव्यमध्ये केही वर्षयता महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै आएको छ । यहाँ धेरै म्युजिक भिडियोको समेत छायांकन भइसकेको छ । झरनालाई सुरक्षित, व्यवस्थित तथा झरनाप्रति आकर्षण बढाउन पालिका मात्र नभई प्रदेश र केन्द्र सरकारको ध्यान पनि केन्द्रित छ ।

‘बजार र सडकबाट नजिक भएकाले पनि गर्मी मौसममा झरना पुग्नेको संख्या उल्लेख्य छ,’ प्रशासकीय अधिकृत भुसालले भने । आम्दानीको स्रोत बढाउने प्रचुर सम्भावना भएर पनि चितवनको पुरानो सदरमुकाम एवं पर्यटकीय गन्तव्य उपरदाङगढीबाट भने सोचेजस्तो आम्दानी गरेको देखिँदैन । गढीबाट सो अवधिमा जम्मा एक लाख ७४ हजार ९५० रुपैयाँ मात्रै आम्दानी भएको तथ्यांकमा उल्लेख छ । गढी पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढे पनि गढी क्षेत्रलाई व्यवस्थित बनाउन नसक्दा आम्दानीको स्रोत गुम्दै गएको स्थानीयको गुनासो छ । नदीजन्य पदार्थबाट इच्छाकामनाले अपेक्षित आम्दानी गरेको छैन । पालिकाले यसबाट जम्मा २ लाख ७७ हजार ४७८ रुपैयाँ मात्रै आम्दानी गरेको छ । पालिकाले एक्स्क्याभेटरबाट १ लाख ६७ हजार ६७० रुपैयाँ, होर्डिङ बोर्डबाट १ लाख ८ हजार ३१९ रुपैयाँ र एम्बुलेन्सबाट १ लाख ८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)