काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले बागमती र गण्डकी प्रदेशका लागि छनोट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ५४ कर्मचारीलाई तालीम दिन शुरू गरेको छ । बैंकले सोमवारदेखि चौधदिने पूर्व सेवाकालीन तालीम काठमाडौंमा शुरू गरेको हो ।
तालीमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सैद्धान्तिक ज्ञानले मात्र प्रतिस्पर्धामा सफलता हासिल गर्न नसकिने बताए । उनले तालीमबाट प्राप्त हुने व्यावहारिक ज्ञानले कार्यस्थलमा सेवा दिन सहयोग पुगी संस्थाको उत्पादकत्व वृद्धि गर्न जनशक्ति उपयोगी हुने बताए ।
कार्यक्रममा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीलाई कार्यस्थलमा जिम्मेवारी वहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउँदै ग्राहकको बैंकप्रतिको विश्वास बढ्नेगरी काम गर्न सुझाइन् । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रविधिको प्रयोगमार्फत जोखिम बढिरहेकाले ग्राहकलाई सचेत भएर डिजिटल बैंकिङ सेवा प्रयोग गर्न सिकाउनुपर्ने बताए ।
मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले कर्मचारीलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । कार्यक्रममा बैंकका विभागीय प्रमुख पद्मा लक्ष्मी जिसी, मानव संशाधन विभागका उपप्रमुख हरिबाबु आचार्यलगायत कर्मचारीको उपस्थिति थियो ।