ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतले बनाइदिएको रेलवेको जिम्मा लिन नेपालको आनाकानी : 'नेपालले १०० मिटर सडक बनाउँनै सकेन'

२०७९ चैत, २२  
समाचार यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
नेपाल कस्टम यार्डबाट विराटनगर आईसीपी जोड्ने सय मीटर लामो लिंक रोड । यो लिंक रोड गतवर्ष नै तयार भइसक्नुपर्नेमा यस वर्षमात्र निर्माण शुरू गरिएको छ ।  तस्वीर : वेदराज पौडेल/अभियान
author avatar वेदराज पौडेल

विराटनगर । समयमै काम हुन सकेको भए भारतको बथनाहाबाट नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमीटर ब्रोडगेज (Broad Gauge) रेलवेमा अहिले मालवाहक र यात्रुवाहक रेल चलिरहेका हुन्थे । सन् २०११ मा शुरू भएको योजना २०१७ मा सकिनुपर्नेमा सकिएन । भारतीय रुपया ३ अर्ब ७५ करोडको अनुमानित लागतमा भारतको इरकोन कम्पनीले रेल परियोजनाको काम शुरू गरेको हो । 

अहिलेसम्ममा आधामात्रै काम भएको छ । बथनाहाबाट विराटनगर एकीकृत जाँच चौकी (ICP) सम्मको ८ किलोमीटर रेलमार्ग सञ्चालनका लागि तयार छ । निर्माण सम्पन्न भएको रेलवेको परीक्षण पनि भइसकेको छ । यसमा मालवाहक र यात्रुवाहक रेल सञ्चालन गर्न सकिने प्रतिवेदन भारतीय रेलवेले आफ्नो विभागमा बुझाइसकेको छ ।

तर, भारतको बथनाहाबाट आउने रेल पहिलो स्टप नेपालको कस्टम यार्ड (Custom Yard) विराटनगर भन्सारको आईसीपीसम्ममात्र आउँछ । रेलवे यार्डमा अनलोड भएको सामान विराटनगर ल्याउन ICP को गेट र Yard को बीचमा सय मीटरको सानो एक लेन सडक छ । यसबाट मालवाहक साधन आउजाउ गर्न कठिन हुन्छ । त्यही कारणले नेपाल पक्षले तत्कालै रेलवेको जिम्मा लिन नचाहेको स्रोतले बतायो । उक्त सडक निर्माणको जिम्मेवारी लिएको ट्रान्स नेपालले निकै सुस्त गतिमा काम गरिरहेको छ । नेपालले रेलवे सञ्चालनका लागि आवश्यक जनशक्ति पनि तयार गरेको छैन । रेलवेको सुरक्षा जिम्मा नेपाल प्रहरीले गर्ने कि सशस्त्रले भन्नेमा द्विविधा छ । यसकारण नेपाल पक्षले तत्कालै जिम्मा लिइहाल्ने अवस्था नरहेको एक उच्च अधिकारीले बताए । 

India भने तत्कालै पहिलो चरणमा बथनाहाबाट जोगवनी कस्टम यार्डसम्मको रेलवे हस्तान्तरण गरेर दोस्रो खण्ड कटहरीसम्मको ट्र्याक निर्माण गर्ने योजनामा छ । नेपाल पक्ष तयार नभएका कारण सम्पन्न भएको रेलवे हस्तान्तरणमा ढिलाइ भइरहेको छ । 

केही दिनअघि कोशी प्रदेशको भ्रमणमा आएका भारतीय राजदूत  Naveen Srivastava ले नेपाल कस्टम यार्डसम्म पुगेर रेलवेबारे जानकारी लिएका थिए । भ्रमणपछि मोरङ व्यापार संघले आयोजना गरेको कार्यक्रममा उनले बथनाहाबाट विराटनगरको आईसीपीसम्म रेलवे सञ्चालन गर्न सकिने भएकाले तत्कालै नेपाल सरकारलाई हस्तान्तरण गरिने बताएका थिए । 

रेलवे विभागअन्तर्गत बथनाहा–कटहरी रेलवेका साइट इन्जिनीयर रोशनकुमार देवले भारतीय रेलवे विभागका अधिकारीहरू हस्तान्तरणको अन्तिम तयारीमा जुटेको जानकारी दिए । रेलवे यार्डबाट आईसीपी जोड्ने लिंकरोड स्तरोन्नतिको काम सकेर रेलवे हस्तान्तरण प्रक्रिया शुरू हुने देवले बताए । 

‘भारतीय रेलवे विभागले कस्टम यार्डसम्म काम सम्पन्न भएको पत्र पठाइसकेको छ,’ इन्जिनीयर देवले भने, ‘रेल विभाग नेपाल र भारतको इरकोनले सुझावसहितको अन्तिम परीक्षण प्रतिवेदन पठाएका छन् । सुझावका आधारमा त्यसको अन्तिम प्रक्रियासमेत भारतीय रेलवे विभागले पूरा गरिसकेको छ ।’

इन्जिनीयर देवका अनुसार भारत सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रेलवे हस्तान्तरण गर्नेछ । त्यसपछि यसको सञ्चालन प्रक्रिया अघि बढ्नेछ । त्यसका लागि आईसीपीसँग ‘लिंकअप वे’ निर्माणको काम अघि बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले कस्टम यार्ड र आईसीपीबीचको ‘लिंकअप वे’ निर्माणको टेन्डर आह्वान गरी काम शुरू गराइसकेको छ ।

पूर्वोत्तर सीमान्त रेलवेको कटिहार रेल मण्डलले रेलवेको सबै तयारी पूरा भएकाले हस्तान्तरणको काम अघि बढाएको बताएको छ । उसले आगामी वैशाखसम्ममा पहिलो चरणमा निर्माण सम्पन्न भएको रेलवे नेपाललाई हस्तान्तरण गर्ने तयारीलाई तीव्र पारेको हो ।

कटिहार रेल मण्डलका अपर मण्डल रेल प्रबन्धक विजयकुमार चौधरीका अनुसार अप्रिलभित्रै रेल सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ । गत मङ्सिर ८ गते (२४ नोभेम्बर २०२२) नर्थ फ्रन्ट (NF) रेलवे मालीगाउँका महाप्रबन्धक अंशुल गुप्ताले उक्त रेलवे परियोजनाको स्थलगत भ्रमण गरी रेल सेवा सञ्चालनको तयारी चाँडो गर्न निर्देशन दिएका थिए ।

भारतका तर्फबाट पुसदेखि नै रेल सञ्चालन गर्न प्रयास भए पनि रेलवे स्टेशनदेखि एकीकृत जाँच चौकीसम्म जोड्ने सडक नेपालले नबनाउँदा काम अघि बढ्न पाएको छैन । उक्त सडक नेपाल इन्टरमोडल यातायात विकास समितिले निर्माण गर्नुपर्ने हो । रेलवे सेवाको परियोजना पूरा भएर सञ्चालनमा आएपछि कोशी प्रदेशको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने भन्दै यस क्षेत्रका उद्योगी व्यवसायीले बथनाहा–कटहरी रेल सेवालाई महत्त्वका साथ हेरेका छन् । समयमा काम सम्पन्न नहुँदा सो परियोजनाको लागत झन्डै सवा अर्ब भारू बढिसकेको बताइन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)