काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरूका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरी काठमाडौंको गोङ्गबु बस्ने रामबहादुर तामाङसहित ६ जनालाई सार्वजनिक गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीका अनुसार पक्राउ परेकाहरूमा सर्लाही, लालबन्दी–८ का विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रवीन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले छन् ।
उनीहरूका साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरूको नागरिकता, राहदानी, जन्ममिति, विवाहदर्ता, मृत्युदर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद भएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
पक्राउ परेकाहरूले वैदेशिक रोजगारीमा गई मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै केही कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमाबापत पाउने बीमा रकम मृतकका आफन्तहरूलाई दिलाई दिने भन्दै उनीहरूले ठगी गर्ने गरेको र त्यसबापत उनीहरूले प्रतिमृतक ७ लाख रुपैयाँसम्म ठगी गरेको खुलेको एसएसपी केसीले बताए ।
यसबारे अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि विशेष अनुसन्धान टोलीले उनीहरूको खोजतलास थालेको थियो ।
वैदेशिक रोजगारीमा गई कार्यस्थलमा मृत्यु भएकाको परिवारले १४ लाख र नेपालमा छुट्टीमा आउँदा मृत्यु भएमा १३ लाख रुपैयाँ बीमाबापतको क्षतिपूर्ति पाउने व्यवस्था छ ।
यस्तै वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त ७ लाख रुपैयाँ पनि पाउने व्यवस्था छ । उनीहरूले परिवारले स्वतः पाउने रकममा पनि प्रलोभनमा पारेर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । रासस