नयाँ वर्ष अगाडि आइराछ र मलाई नयाँ संकल्प लिन उक्साइराछ । तर हालत यस्तो छ कि यता म कुनै संकल्प लिने सोच्छु, उतातिर कुनै न कुनै कुकुर भुक्न थाल्छ । चारैतिर बिरालाहरू म्याउँ म्याउँ र ङ्यार्र ङुर्र गर्न थाल्छन् । र म जब कुनै अवसरका बारेमा यसो सोचिरा हुन्छ, त्यसैबेला मेरो दिमागमा कुनै न कुनै संकल्पका कीराहरू सल्बलाउन थालिहाल्छन् । तर यत्तिका वर्ष संकल्प लिएँ, पूरा त के आधा पनि भएनन् क्वार्टर पनि भएन । तैपनि फेरि नयाँ संकल्प लिन मन चैं लागिराछ !
यस्तो लाग्छ कि १ घण्टा पनि सत्य बोल्नु एकदमै गाह्रो र घाटाको काम हो । नपत्याए हाम्रा देशका नेताहरूलाई नै सोध्नुस् कि सत्य बोल्ने कुरा कति असम्भव छ भनेर । सत्य बोल्नासाथ सत्यवादी सत्ताबाट स्वाट्ट चिप्लिहाल्छ ।
ज्ञान र ध्यान बढाउन नसके पनि ज्यान चाहिँ बनाउनुपर्छ रे । त्यसैले म यो सोचिराछु कि नयाँ वर्षदेखि बिहान ५ बजे नै उठ्छु । हैन हैन ४ बजे । हैन यार, संकल्प त ३ बजे उठ्ने लिनुमै बढी मज्जा आउँछ नि ! नियम पनि त्यही हो । उठेर सबैभन्दा पहिले हातखुट्टाको व्यायाम गर्छु । हातखुट्टालाई अघिपछि गर्छु । तलमाथि गर्छु । दाँया–बाँया गर्छु । यसबाट म महान् योगा–शास्त्री बनिहाल्छु । तर जसरी हरेक वर्ष मेरा संकल्प २–३ घण्टामा टुट्छ, त्यसै प्रकारले यो संकल्प पनि २–३ घण्टामै टुट्ने पूरै आशा छ । हुन पनि यो संकल्पको के काम, जसको विकल्प हुँदैन, वा जुन कहिल्यै टुट्दैन । संकल्पको मामलामा हाम्रा नेताहरूबाट सिक्नुपर्छ कि क्या हो ! आफैं नियम बनाउने र आफै तोड्ने गरेपछि अलिक भीआईपी भइन्छ कि !
यो नयाँ वर्षमा अझै एउटा संकल्प लिन्छु कि म आफ्नो अफिसका दराज, घर्राहरू र घरवरिपरि पूर्ण सफा राख्नेछु र फोहोर नियमानुसार छिमेकीकोमा वा सडकमै फ्याँक्नेछु । सिंहदरबारतिर लगेर फालौं भने त्यहाँ त पहिलेदेखि नै टनाटन देशैभरका फोहोर आएर थुप्रिएका छन् । त्यहाँ त अब फोहोर फाल्ने ठाउँ बाँकी छैन । हुन पनि समस्त प्रकारका फोहोरहरू बनेकै यसकारण हुन् कि तिनलाई छिमेकीकहाँ वा सडकमा लगेर फ्याँक्न सकियोस् । वर्षौंदेखि घरपरिवारदेखि देश दुनियाँसम्ममा समस्त प्रकारका फोहोरहरूलाई आआफ्ना छिमेकीकहाँ लगेर फ्याक्ने नियम नै जो छ । हेर्नुस् त भारत र अझ चीनले विश्वमा कतै नबिक्ने यस्ता सामानहरू, प्लाष्टिकदेखि पोलिस्टरसम्म अर्को शब्दमा फोहोरहरू ल्याएर नेपालमा फ्याँक्ने गरेको । आफू चाहिँ एन्टी डम्पिङ कानून ल्याउँछन्, हामीलाई चाहिँ डम्प गरेर डुबाउँछन् । तर तिनले फालेका थोत्रा कुरा किन्न पनि हामी नेपालीहरू लामबद्ध, कटिबद्ध र अझ प्रतिबद्ध जो छौं ।
म चाहन्छु कि नयाँ वर्षको उपलक्ष्यमा कमसेकम यो पटक सत्य नै बोल्दिम् । सत्य बोल्ने संकल्प नै लिइहालूँ । यसले सत्यवादी राजा हरिश्चन्द्रदेखि युधिष्ठिर, पाण्डवहरू र आधुनिककालका जयपृथ्वीबहादुर सिंह समेतका आत्मालाई मेरो सत्य बोलाइले सान्त्वना पनि दिन्छ । तर दुर्भाग्य ! यसमा एउटा समस्या छ । जसै म सत्य बोल्ने संकल्प मनमा सोच्छु, त्यससँगै बसिरहेकी मेरी जीवनसंगिनी बेस्करी हाँस्न थाल्छिन् । उनी भन्छिन् कि यो संकल्प त एक मिनेट पनि टिक्दैन । श्रीमतीजीको आदेश छ कि कमसेकम कुनै संकल्प यस्तो लिऊँ कि त्यो उनले टिकटक हेरुन्जेल त टिकोस् ।
हे मेरा प्यारा पाठक देउता ! अब तपाईं नै भन्नोस् कि म यो सत्य बोल्नेवाला संकल्प अहिलेलाई एकातिर राखिदिऊँ कि के गरूँ ? शायद यो पन्छाउनु नै ठीक होला । किनकि सत्य बोल्ने हिम्मत न ममा छ, न त सुविधा ! तर हप्तामा एकचोटि एक घण्टा भने सत्य बोल्ने संकल्प लिनु चैं उचित हुन्छ होला ।
त्यसैले हे पाठकवृन्द ! अब त हप्तामा एकपटक मंगलवार साँझ ५ बजेदेखि ६ बजेसम्म सत्य बोल्ने एउटा कार्यक्रम राख्नेछु । यदि कसैलाई मेरा झुठा कुराहरूमा विश्वास गर्नु छ भने मलाई सो समयबाहेक फोन गर्नुहोला, ताकि म झुठलाई स्वाट्ट चेप्न वा छोप्न सकूँ । तर मलाई यस्तो लाग्छ कि १ घण्टा पनि सत्य बोल्नु एकदमै गाह्रो र घाटाको काम हो । नपत्याए हाम्रा देशका नेताहरूलाई नै सोध्नुस् कि सत्य बोल्ने कुरा कति असम्भव छ भनेर । सत्य बोल्नासाथ सत्यवादी सत्ताबाट स्वाट्ट चिप्लिहाल्छ ।
यसैले यो संकल्प लिन्छु कि नयाँ वर्षमा हप्तामा एकपटक १ मिनेट चैं म सत्य बोल्नेछु । यो संकल्प म कुनै भयरहित, विनादबाब र पूर्ण होश र जोशका साथ लिइरहेको छु है ! यसमा कसैलाई कुनै आपत्ति छ भने मलाई समयमै खबर गर्नुहोला ।
मलाई लाग्छ, जब जब नव वर्ष आउँछ, तब तब कुनै न कुनै नयाँ संकल्प लिने परम्परा बनेको छ । तर सधैं सत्य बोल, इमानदार बन, नीतिवान् बन, समतामूलक, समावेशी समाज निर्माण गर, मेहनती बन जस्ता कैयौं संकल्पहरूले आफ्ना कैयौं पुण्यतिथि मनाइरहेका छन् । अनि नयाँ वर्षमा क्यालेन्डर फेरिएझैं मेरो संकल्प पनि फेरिन्छ । तर प्रत्येक संकल्पले नयाँ वर्षको नाकमा नथ्थी लगाएर हैरान गर्ने गरेका छन् । बिचरा वर्ष एक, तर नाकमा नथ्थी लगाउने संकल्पहरू भने अनेक !
जे होस्, अहिलेलाई भने सन् २०८० लाई हाई हाई र २०७९ लाई बाई बाई ! नववर्षले नेताहरूको बुद्धि आफूले गरेका वाचा र संकल्पहरू पूरा गर्नेतिर फिरोस्, नेपाली सामान विश्व बजारमा राम्रैसँग छिरोस् । नववर्ष २०८० को यहि नै छ हार्दिक मंगलमय शुभकामना !