काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एचआईभी संक्रमित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बेबी लाइफ होमलाई आर्थिक सहयोग स्वरूप रू. २ लाख सहयोग गरेको छ । बैंकले १६औं वार्षिकोत्सवको अवसर पारेर संस्थालाई आर्थिक सहयोग गरेको हो । संस्थामा रहेका २७ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गरिने संस्थाका सञ्चालक राजकुमार पुनले जानकारी दिए । त्यसैगरी कर्णाली क्षेत्र पर्यटन तथा सांस्कृतिक आरक्षण केन्द्रमार्फत छात्रवृत्ति प्रदान गरिएको छ । चन्दननाथ मावि र मदन भण्डारी कृषि प्राविधिक विद्यालयमा वनस्पति विज्ञानमा तीन वर्षको डिप्लोमा कार्यक्रममा अध्ययनरत दुईजना विद्यार्थीलाई बैंकले १ लाख रुपैयाँ बराबर छात्रवृत्ति प्रदान गरेको छ ।