काठमाडौं । भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स र नेपाल एसबिआईको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच आइतवार सहकार्यको समझदारी भएको छ ।
उक्त समझदारीको प्रमुख लक्ष्य परियोजनामा लगानी, सिन्डिकेशन, प्रोजेक्ट अप्राइजल र नेपालमा अन्य वित्तीय परामर्श सेवा लगायतमा सहकार्य गर्नु रहेको बताइएको छ । यी क्षेत्रमा विविध सम्भावित अवसरहरूमा पारस्परिक रूपमा महत्त्वपूर्ण विषयमा सहकार्य गर्ने र विभिन्न परियोजनाको पहिचान, सञ्चालन र कार्यान्वयन गरिने सम्झौतापछि जारी विज्ञप्तिमा बताइएको छ । नेपालमा विशेषगरी जलविद्युत् परियोजना लगायतका पूर्वाधार क्षेत्रमा तीव्र गतिमा काम अगाडि बढेको भन्दै विज्ञप्तिमा दुई संस्थाको सहकार्यबाट परियोजना लगानी एवं अन्य वित्तीय परामर्शको आवश्यकता पूरा गरिने बताइएको छ ।
उक्त समझदारी पत्रमा एसबिआई क्यापिटल मार्केट्सका कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खारा, भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक सीएस सेट्टी उपस्थित थिए । त्यस्तै कार्यक्रममा एसबीआई क्यापिटल मार्केट्सका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अमिताभ चटर्जी, नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सल, नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।