काठमाडौं । विश्व चर्चित ब्राण्ड Apple का सीईओ टिम कुक आफ्नो ५५१ औं स्टोरको शुरूआत गर्न भारतमा छन् । एसीईओ कुक स्टोरको उद्घाटनका लागि सोमबार मुम्बई पुगेका थिए । यस भ्रमणमा टिम कुकसँग एप्पलका रिटेल एण्ड पिपुलका वरिष्ठ उपाध्यक्ष डेइड्र ओ ब्रायन पनि छन् ।
उनले भारतका सरकारी अधिकारीबाहेक भारतका व्यापारी नेताहरूसँग पनि भेट गर्नेछन् । टिम कुकले सोमबार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी र टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरनलाई भेटेका थिए। मुकेश अम्बानीका छोरा आकाश र छोरी ईशालाई पनि उनको घर एन्टिलियामा भेटेका थिए ।
एप्पल स्टोर शुरू गरेपछि अब टिम कुकले बुधबार प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री राजीव चन्द्रशेखरलाई पनि भेट्न सक्नेछन् । उनले निर्यात र उत्पादन जस्ता रणनीतिक विषयमा पनि मन्त्रीहरूसँग वार्ता गर्नेछन्।
टिम कुकले बलिउड अभिनेत्री माधुरी दीक्षित नेनेलाई पनि भेटेका थिए । माधुरीले यस भेटको तस्विर ट्विटरमा सेयर गरेकी छिन् । जसमा टिम कुक र माधुरी दीक्षित रेस्टुरेन्टमा वडापाव खाइरहेको देखिएका छन् । टिम कुकले तस्बिरलाई रिट्वीट गर्दै लेखेका छन्, 'मलाई मेरो पहिलो वडापावको परिचय गराउनु भएकोमा धन्यवाद माधुरी दीक्षित - यो स्वादिष्ट थियो।' एजेन्सीको सहयोगमा