काठमाडौं । चालू आर्थिक वर्ष (आव)को साउनदेखि चैतसम्म वैदेशिक रोजगारी (foreign employment)का लागि ६ लाख २ हजार १५७ जनाले श्रम स्वीकृति (Labour Acceptance) लिएका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिभन्दा ३० प्रतिशत बढी हो ।
वैदेशिक रोजगार विभाग (Department of Foreign Employment) का अनुसार गत आवको उक्त अवधिमा ४ लाख ६० हजार ४८६ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।
गएको चैतमा मात्रै ६१ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । विभागले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार २०७९ चैतमा ६१ हजार ४७८ जनाले श्रम स्वीकृति लिएका हुन् । यो संख्या २०७८ चैतको तुलनामा १० प्रतिशत बढी हो । सो महीनामा ५५ हजार ५२३ जनाले श्रम स्वीकृति लिएका थिए ।
तथ्यांक अनुसार गत महीना मलेसिया (Malaysia) का लागि सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । सो महीनामा १६ हजार २६५ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन् । मलेसियापछि सबैभन्दा धेरैले श्रम स्वीकृति लिने देश हो, साउदी अरब (Saudi Arabia) । गत चैतमा साउदीका लागि ११ हजार २४९ जनाले श्रम स्वीकृति लिएका छन् ।
यो सूचीमा कतार (Qatar) तेस्रोमा आउँछ । कतारका लागि ११ हजार २४९ जनाले श्रम स्वीकृति लिएका छन् । युएई (UAE) जान चाहनेहरूको सङ्ख्या भने १० हजार १९३ छ ।
यो संख्या अनुसार दैनिक औसत २ हजार २३० जना नेपालीले वैदेशिक रोजगारीका लागि देश छोड्ने गरेका छन् ।
कुन महीनामा कतिले लिए ?
चालू आवको साउनमा ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसैगरी, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६, कात्तिकमा ७८ हजार ३७०, मंसिरमा ६८ हजार ५६४, पुसमा ६५ हजार ४६४, माघमा ६४ हजार २८४ र फागुनमा ६१ हजार ८४५ जनाले श्रम स्वीकृति लिएका छन् ।
गत आवको साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७० र फागुनमा ५३ हजार ४५७ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।