विश्वको प्रमुख आर्थिक शक्तिका रूपमा उदाउँदै गरेको चीनमा थुप्रै नक्कली वस्तु उत्पादन हुने गरेका छन् । त्यहाँ एप्पल स्टोरदेखि थुप्रै प्रख्यात ब्राण्डका दुरुस्त उत्पादनलगायत नक्कली पत्रकारहरूसम्म फेला पारिएका छन् । अब भने यो सूचीमा नक्कली सरकार पनि थपिएको छ । चिनियाँ राज्यनियन्त्रित सञ्चारमाध्यमहरूले हालै दिएको समाचारअनुसार हेनान प्रान्तमा ‘डेङझोउ जनसरकार’ नाम दिएर खडा गरिएको एक जालसाजीको पर्दाफास गरिएको छ ।
समाचारमा उक्त ‘सरकार’ हेनानका तीन जना बासिन्दाले स्थापना गरेको बताइएको छ । उनीहरूलाई गिरफ्तार गरिएपछि उनीहरूसँग दुरुस्तै मिल्ने सरकारी छाप र कागजात फेला पारिएको थियो । त्यतिमात्र नभई उनीहरूले आफ्नै ‘निजामती सेवा’ खडा गर्न पनि प्रयत्न गरेको भेटियो । ती व्यक्तिले सरकारी जागीरका लागि भन्दै पत्रपत्रिका र वेबसाइटमा कर्मचारी भर्तीको विज्ञापन पनि दिएका थिए । स्थानीय अधिकारीहरूका अनुसार उक्त ‘सरकार’को विज्ञापनबाट आकर्षित भएर थुपै्र मानिसले जागीरका लागि आवेदनसमेत दिए ।
ती तीन जनाले स्थानीय सरकार ‘बेकम्मा’ भएपछि स्वतन्त्र ढङ्गले चुनौती दिन त्यसो गरिएको बयान दिएका छन् । नक्कली सरकारको मुख्यालय वास्तविक सरकार रहेको भवन छेउछाउमै स्थापना गरिएको थियो । एक जना भवन निर्मातालाई उनले बनाइरहेको परियोजना गैरकानूनी भएको भन्दै पूर्जी जारी गरेर जरीवाना तिराउने प्रयत्न गर्दै गर्दा ती नक्कली अधिकारीहरू गिरफ्तार गरिएका थिए । भवन निर्माताले उनीहरूबारे शङ्का लागेपछि स्थानीय निकायमा उजुरी दिएका थिए । उनीहरूलाई नक्कली सरकारी कागजात बनाएको आरोप लगाएर मुद्दा चलाइएको छ ।