काठमाडौं । नेको इन्सुरेन्स (Neco Insurance) ले ९ महीनामा १ अर्ब २७ करोड दाबी भुक्तानी गरेको जनाएको छ । यस आर्थिक वर्ष २०७९/८० को प्रारम्भमा कम्पनीसँग ३ हजार ९७३ दाबी तिर्न बाँकी थिए ।
कम्पनीले चालू आर्थिक वर्ष (आव)मा थपिएका समेत गरेर कुल ८ हजार ९५९ ओटा दाबी फर्छ्यौट गरेको छ । यस आर्थिक वर्षको चैत मसान्तसम्म थपिएको दाबीसहित कम्पनीले करीब ७० प्रतिशत दाबी भुक्तानी गरिसकेको छ ।
Neco Insurance Ltd बाट भुक्तानी भएका दाबीहरूमध्ये कृषिसँग सम्बन्धित मात्रै २ हजार २३० दाबीको कुल रु. १० करोड २ लाखभन्दा बढीको दाबी रकम भुक्तानी गरिएको छ । छिटो छरितो दाबी भुक्तानीका लागि ५ वर्षदेखि कम्पनीले Spot Payment (ठाउँको ठाउँ भुक्तानी) मार्फत दाबी भुक्तानी गर्दै आएको छ ।
कम्पनीले दाबी भुक्तानीमा अपनाएको गुणस्तरीय सेवाले आफ्ना ग्राहकको मन जितेको तथा निरन्तर यस कम्पनीको व्यवसायको आकार बढ्नु ग्राहक सन्तुष्टिको प्रमाणको रूपमा लिएको बताएको छ ।
यस आर्थिक वर्षको अन्तसम्ममा थप दाबी भुक्तानी भई भुक्तानी हुन बाँकी दाबीको संख्यालाई घटाउने कम्पनीले जनाएको छ । 'दाबी परेका र कागजात पूरा भएका दाबीहरूको यथाशीघ्र भुक्तानी दिने नीति कम्पनीले लिएकोले सम्पूर्ण दाबीकर्ता बीमितहरूलाई यथासक्य छिटो कागजात पेश गरी दाबी भुक्तानी लिनुहुन हार्दिक अनुरोध गर्दछौं । समयमा दाबी तिर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौं,' कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।