ललितपुरको सबैभन्दा लामो समय चल्ने जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा सोमवार शुरु भएको छ । रातो मच्छिन्द्रनाथको मूर्तिलाई गत शुक्रवार (वैशाख शुक्ल प्रतिपदा) रथारोहण गरेर त्यसको ४ दिनपछि रथ तान्न शुरु गर्ने परम्परा अनुरुप सोमवार दिउँसो ४ बजेर ४५ मिनेटमा रथ तानिएको हो ।
वर्षा र सहकालको देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्राको पहिलो दिन रथलाई ललितपुरको पु्ल्चोकबाट गाःबाहल पुरयाइएको छ । यसका साथै मीननाथको रथलाई पनि संगसंगै तानिन्छ ।
हरेक वर्ष वैशाख शुक्ल प्रतिपदामा शुरु भई असार शुक्ल चौथीसम्म गरी करीब २ महीना चल्ने यो जात्रा उपत्यकाकै सबैभन्दा लामो जात्रा हो । वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरेर शुुरु गरिने जात्रा तथा रथयात्राको क्रममा क्रमश मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्याएर अन्त्यमा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर जात्रा अन्त्य गरिन्छ । यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगेपछि जात्रा समापन हुन्छ ।