काठमाडौं । ‘नेपाल बिजनेस समिट २०२३’को डेभलपमेन्ट बैंकिङ साझेदारको रूपमा कामना सेवा विकास बैंक रहने भएको छ । संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेश इन्स्टिच्युटको संयुक्त आयोजनामा वैशाख २४ गते आयोजना हुने बिजनेश समिटमा डेभलपमेन्ट बैंकिङ साझेदारको रूपमा कामना सेवा विकास बैंक रहने गरी मंगलवार सम्झौता भएको हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल बिजनेश इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ मूल नारासहित अन्तरराष्ट्रिय ढाँचामा सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिकम्युनिकेशन क्षेत्र, डिजिटल नेपाल फ्रेमवर्कलगायत विषयमा राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ताहरूले आफ्नो प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।