ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

के नेपाल खत्तम छ ?

२०८० बैशाख, १५  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

प्रायः सबै नेपालीको मुखबाट निस्किरहेको हुन्छ ‘नेपाल खत्तम छ’ । अझ देश छाडेर विदेशतिर लाग्नेहरू त सबैको मुखमा हुन्छ ‘नेपाल खत्तम छ’ ‘बर्बाद छ’ । तर विदेशीहरू यता आउँदै भन्छन्, नेपाल क्या गजब छ । नेपाल गजब हो कि खत्तम त ? 

खत्तमै भए पलायन हुनेहरू उता पुगेर किन नेपालकै चियोचर्चो गरिरहन्छन् ? अनि किन मिलेसम्म यै खत्तम नेपालमै फर्किन पनि खोज्छन् ? मैले चाहिँ बुझ्न सकेको छैन । 
तर मलाई लाग्छ, नेपालमा केही छैन भनेर धनी देशमा जानेहरू चैं अबुझ हुन् । सरकार र राजनीतिक दलले यो देशलाई धनी बनाउन, अझै आत्मनिर्भर बनाउन कति मरिमेटी लागिरहेका छन् ? यसमा सघाउने कि आफू पनि भाग्ने अरूलाई पनि भगाउने ? 

हेर्नुस् त, यहाँ नेता, कर्मचारी, मन्त्रीहरू विदेश घुमेको घुम्यै छन्, त्यताको विकास हेरेर यता विकास गर्ने भनेर । विदेशीले पनि दानवीर कर्णझैं नेपाललाई मद्दत गरिरहेकै छन् । नेपालको विकास गर्न यत्ति विधि विदेशी दूतहरू, कन्सल्टेण्टहरू अहोरात्र खटिएकै छन् । 

देशलाई आत्मनिर्भर बनाउन भनेरै त सरकारले विदेशीसँग हात पसारेको पसार्‍यै छ । उनीहरूले केही अनुदान दिन्छन्, त्योभन्दा धेरै ऋण दिन्छन् । विदेशीले ऋण पत्याउनु चानचुने कुरा होइन नि ? देख्नुभएन श्रीलंका र पाकिस्तान माग्दा माग्दा थाकिसके, तैपनि विदेशीले पत्याएका छैनन् ।

त्यसैले जबसम्म विदेशीले मद्दत गरिरहन्छन्, हामी पनि आत्मनिर्भर भइरहन्छौं । जब जब विदेशीले ऋण अनुदान दिन छाड्छन्, हामी पनि आत्मनिर्भर हुन छाडिदिन्छौं ।

विदेशीले सहारा दिउन्जेल हामी हाम्रो खुट्टामा उभिइरहन्छौं । विदेशीले सहारा दिँदैनन् भने हामी आफ्नो खुट्टामा कसरी उभिरहन सक्छौं र ? खुट्टामा उभिने कुरा छाड्नोस्, विदेशीले ऋण दिएन भने हामी कर्मचारीलाई तलब खुवाउन पनि सक्तैनौं । 

त्यसो त विदेशीले सहयोग नगरेका कुरामा पनि देशले केही न केही प्रगति चैं गरिनै रहेको छ है । कहिले कहाँ, कसरी प्रगति गरेको त्यो चाहिँ नसोध्नुहोला । तर प्रगति चाहिँ गरिनै रहेको छ । हाम्रो मुलुक सम्भावना नै सम्भावना भएको मुलुक हो क्या ⁄ सरकार यी सम्भावनालाई अझ बढाउन लागिप¥या छ । कहीँ पुल बन्यो भने मोटर गुड्छ, सामान आयात निर्यात गर्ने सम्भावना बढ्छ । त्यस्तै, बाँध बन्यो, नहर बन्यो भने सिँचाइको सम्भावना बढ्छ । सरकार अधुरा पुलहरू, बाँधहरू भरसक पूरा गर्दैन । किनकि त्यो पूरा भयो भने त्यहाँ सम्भावना हराउँछ ।

त्यस्तै उत्पादन बढ्यो भने निर्यात बढछ । निर्यात बढ्ने सम्भावनालाई कायम राख्न सरकार कसरी उत्पादन रोक्ने भन्नेतिर तुरुन्त लागिहाल्छ । उद्योगहरूलाई कच्चापदार्थमा थेग्नै नसक्ने भन्सार शुुल्क लगाइदिन्छ । पेट्रोलियममा कर र नाफा कोचेरै पारवहन खर्च बढाइदिन्छ । तैपनि कसैले उत्पादन गरिरह्यो भने दशथरी ट्रेड युनियन लगाइदिएर उत्पादन रोक्ने प्रपञ्च गरिदिन्छ । यति गरेपछि न निर्यातको सम्भावना रहिरहन्छ । 

देश विकासमा सघाउन देशमा थुप्रै मन्त्रालय, विभाग, आयोग आदि छँदै छन् । त्यसमध्ये धेरै सक्रिय एउटा योजना आयोग भन्ने पनि छ । प्रदेशहरू समेत गरेर त अहिले आठ योजना आयोग पो छन् क्यारे ⁄ कतिले योजना आयोगलाई बसपार्क भन्ठान्छन् । एउटा बस आउँछ, त्यसबाट केही मान्छे उत्रिन्छन् र केही त्यसमा चढ्छन् । अर्थात् त्यहाँ केही न केही परिवर्तन भइरहन्छ । कि त योजना परिवर्तन भइरहन्छन् वा आयोग परिवर्तन भइरहन्छन् । दुवै भएनन् भने सरकार परिवर्तन हुन्छ ।

सरकारले योजना बनाएर सचिवहरूलाई दिन्छ । सचिवहरूले मन्त्रीलाई सोध्छन् कि ति योजनामध्ये कुनलाई अघि बढाउने, कसलाई नबढाउने । सरकारले प्राथमिकता निर्धारण गर्दिन्छ । अनि जुन कामलाई प्राथमिकता दिएको भनेको हो, त्यसमा सरकारले बजेट दिँदैन । तर प्राथमिकता नपरेको मात्र होइन, चर्चासम्म नभएका कतिपय काममा भने प्रशस्त बजेट खन्याइदिन्छ । जस्तै, सर्प पाल्ने कार्यक्रम, चरो मुसो नआउने ठाउँमा अन्तरराष्ट्रिय विमानस्थल बनाउने योजना वा सालका रुखै रुखमात्र भएका ठाउँमा शहरको विकास । यी सबै किन त भन्दा सरकार सम्भावनाहरूलाई टिकाइराख्न चाहन्छ ।

सरकार बेरोजगारी हटाउन चाहन्छ । त्यसैले त बेरोजगारहरू यहाँबाट हटेर त्यहाँ जान्छन् । त्यहाँबाट हटेर ह्वाँ जान्छन् । अन्ततः क्यै नलागेपछि विदेशतिर भाग्छन् । अर्को कुरा, सरकार विकासप्रति कटिबद्ध पनि छ । सरकारको कटि अर्थात् कम्मर बद्ध भएपछि बाँकी शरीर, पेट चल्नै नसक्ने भएकाले अलि समस्या भएको मात्र हो । 

तर यो कुरा नबुझ्नेहरू चैं सरकारलाई गाली मात्र गरिरहन्छन् । त्यै रिसमा सरकार पनि उद्योगी व्यापारीलाई बढी कर तिर भन्दै धम्क्याइरहन्छ । उद्योगी व्यापारी पनि के कम ? कर बढी तिर्नुको साटो सरकारी दललाई अझ थप चन्दा दिएर आफ्नो धन्दा चलाउँछन् । बदलामा सरकारले उनीहरूले भनेकै खालको नीति बनाइदिन्छु पनि भन्छ । तर त्यस्तो नीति या त बनाउँदैन, वा बनायो भने पनि लागू गर्दैन । यसरी त्यस्तो नीतिका विरोधीहरू पनि सरकारसँग खुशी नै देखिन्छन् । यसो गर्दा यी सम्भावना यथावत् जोगिन्छन् ।

यसबाट फेरि अनेक समस्या शुरू हुन्छन् । समस्या भयो भनेर चारैतिरबाट हारगुहार हुन थाल्छ । अनि सरकारले एउटा आयोग बनाइदिन्छ । आयोग मतलब आयो गयो । जहाँ आयोग बस्यो त्यो काम पनि सदाका लागि बस्यो बस्यो । किनकि आयोगको कामै रिपोर्ट दिनुमात्र हो । अनि त्यो रिपोर्ट पढ्न नपरोस् भन्ने डरले होला सरकार नै बदलिन्छ । नयाँ सरकारले त्यो रिपोर्ट हेर्दैन, बरु अर्को आयोग बनाउँछ । किनकि सम्भावना अझ थप्नु जो छ ।  

सरकारले निजीक्षेत्रको विकासमा सघाउन अब अख्तियार पनि लगाइदिने रे । किनकि सरकारी क्षेत्रमा भ्रष्टाचार र भ्रष्टाचारी नभेटिएकाले अब निजीक्षेत्रमा पो भ्रष्टाचारी भेटिन्छन् कि भनेर । भ्रष्टाचारी भेटिए भने सरकारको वा सरकारी मान्छेको संकलन अझ बढ्छ भन्ने आकलन छ ।

यै हप्ता देशमा उपचुनाव भयो । उपचुनावमा धेरै मतदाताहरूले आफूहरूले भगवान्लाई भेटेको, त्यै भएर भगवान्लाई नै भोट पनि दिएको भनिरहेका छन् । अब त्यहाँबाट जितेर आएकाहरूले पनि देशको कायापलट नै गर्ने भनेका छन् । यसरी हाम्रो देशमा केही न केही भैराछ । चुनाव भयो । उपचुनाव भयो । लोकतन्त्र दिवस सम्पन्न भयो । गणतन्त्र दिवस आउँदै छ र त्यो पनि सम्पन्न हुन्छ । झण्डाहरू फहराइन्छन् । फूल, माला, अबिर, खादा, भाषण सबै सबै हुन्छन् । 

अनि देशमा यत्रा यत्रा क्रान्तिकारी कामहरू हुँदाहुँदै पनि देशमा केही भएन वा देश खत्तम छ भन्न मिल्छ र भन्या ?
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)