काठमाडौं । बैंक तथा वित्तीय संस्था विरुद्ध गतिविधि गरेमा मुद्दा चलाउने तयारी गरिएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघको मिति २०८० बैंशाख १४ गतेको बसेको कार्यसमितिको बैठकले बैंक तथा वित्तीय संस्था, सोेको सम्पत्ति, साख एवम् सोमा कार्यरत कर्मचारीहरुको विरुद्धमा गतिविधि गरेका कानूनी कारबाहीमा जाने निर्णय गरेको हो ।
विभिन्न व्यक्ति, संस्था तथा समुहहरुबाट विगत केही समयदेखि निरन्तर रुपमा भइरहेको गैरकानूनी गतिविधिहरुको सम्बन्धमा "अब उप्रान्त कुनै पनि व्यक्ति, समूह वा संघ–संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पुर्याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाहरुबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने लगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरू गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरुका विरुद्ध अनिवार्य रुपमा मुद्दा चलाउने" निर्णय गरिएको सिबिफिनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
"प्रचलित कानूनको अधिनमा रही हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने, उजुरी गर्ने लगायत बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरुको हकहित संरक्षणको लागि प्रचलित कानूनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि बैंक तथा वित्तीय संस्था परिसंघ र यसमा आवद्ध सबै बैंक वित्तीय संस्थाहरू पूर्ण रुपमा एकताबद्ध, प्रतिबद्ध र दृढ संकल्पित रहेको विषय सबै सरोकारवालाहरुको जानकारीको लागि सादर निवेदन गर्दछौं ।” विज्ञप्तिमा भनिएको छ ।