काठमाडौं । नेपालको जनगणना २०७८ को पूर्ण विवरण आएसँगै नेपालको अर्थतन्त्रलाई निर्धारण गर्ने पक्षहरूका आँकडा सार्वजनिक हुन थालेका छन् ।
यस जनगणनाको हालै सार्वजनिक तथ्यांक अनुसार नेपालमा आर्थिक रूपले सक्रिय १० वर्ष वा सोभन्दा बढी उमेर भएको जनसंख्या पनि एक महत्वपूर्ण पाटोको रूपमा रहिआएको छ ।
नेपालको जनगणना २०७८ का अनुसार नेपालमा यस उमेर समूहको आर्थिक रूपले सक्रिय जनसंख्या १ करोड ४९ लाख ८३ हजार ३१० रहेको छ ।
उक्त जनसंख्यामध्ये १ दशमलव शून्य ९ प्रतिशत (१ लाख ६३ हजार ७४६) को प्रमुख पेशाको रूपमा वित्तीय र बीमा पेशा रहेको छ । कुल पुरुषमा १ दशमलव १४ प्रतिशत (९० हजार १२२) वित्तीय र बीमा पेशामा आबद्ध रहेको पाइन्छ भने कुल महिलामध्ये १ दशमलव शून्य ४ प्रतिशत (७३ हजार ६२४) महिला यो पेशामा आबद्ध रहेको पाइन्छ ।
शहरमा वित्तीय र बीमा पेशामा आबद्ध जनसंख्याको हिस्सा १ दशमलव ५० प्रतिशत रहेको छ भने यो हिस्सा गाउँपालिकामा शून्य दशमलव ३७ प्रतिशत रहेको छ । हिमालमा वित्तीय र बीमा पेशामा आबद्ध जनसंख्याको हिस्सा शून्य दशमलव ४२ प्रतिशत, पहाडमा १ दशमलव ४६ प्रतिशत र तराईमा शून्य दशमलव ८७ प्रतिशत रहेको छ ।
प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा २ दशमलव ३५ प्रतिशत अर्थात ७६ हजार ३५८ जनसंख्या यो पेशमा आवद्ध छन् । यो भनेको कुल बैंक तथा बीमा पेशामा आवद्ध संख्याको ४६ दशमलव ६३ प्रतिशत हो ।
कोशी प्रदेशमा वित्तीय र बीमा पेशामा आबद्ध जनसंख्याको हिस्सा शून्य दशमलव ८७ प्रतिशत, मधेश प्रदेशमा शून्य दशमलव ६१ प्रतिशत, गण्डकी प्रदेशमा १ दशमलव २० प्रतिशत र लुम्बिनी प्रदेशमा शून्य दशमलव ७३ प्रतिशत जनसंख्या यो पेशामा आवद्ध रहेको छ ।
यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा वित्तीय र बीमा पेशामा आबद्ध जनसंख्याको हिस्सा क्रमशः शून्य दशमलव ४६ प्रतिशत र शून्य दशमलव ५३ प्रतिशत छ ।