ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यस्तै रहेछ यहाँको चलन

२०८० बैशाख, २२  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

देशमा धेरै दलको गठबन्धनको सरकार छ, मन्त्री थपिएका थपियै छन् । तर पनि सरकार पूर्ण छैन । देश बिरामी छ तर वैद्यखानामा ओखतीको चूर्ण छैन । सरकारमा पुग्नेहरू धेरैजसो सडेका छन् । त्यसैले त जनताका गुनासा पनि दिनप्रतिदिन बढेका छन् । 

धारा छन्, त्यसमा पानी छैन । ह्यान्डपम्प छन् । तर ती चल्दैनन् । बिजुलीपम्प पनि छन् । तर बिजुली छैन । विभाग छन् । काम गर्दैनन् । फोन लगायो, लाग्दैन । लाग्यो, उठ्दैन । हाकिमहरू छन् । तर छुट्टीमा छन् । सहायक छन् । तर उनलाई थाहा छैन । गुनासो गरौं, सुन्ने कोही छैन । आवेदन दिइएको थियो । तर स्वीकृत भएन । रिपोर्ट लेखाइएको थियो । तर त्यसबाट केही भएन ।

योजना स्वीकृत भयो, तर बजेट स्वीकृत भएन । बजेट स्वीकृत भयो, तर पैसा स्वीकृत भएन । पदहरू छन् । तर हिजोआज खाली छन्, न्यायालयदेखि औषधालय वा विश्वविद्यालयसम्म । भरिएका ठाउँमा धेरैजसो जाली मात्रै छन् । पद बहाली भएका ठाउँमा दलका झोलेहरूकै हालीमुहाली छ ।

योग्य र जी हजुरी गर्न नजान्ने कर्मचारी सरुवा हुन्छन् । मन्त्री ठीक छन्, सचिव ठीक छैनन् । सचिव ठीक छन्, मन्त्री बेठीक छन् । दुवै ठीक भए मातहतका कर्मचारी ठीक छैनन् । मातहतका कर्मचारी ठीक भए हाकिम ठीक छैनन् । सबै ठीक भए माथिबाट आदेश आउँदैन । आदेश आयो भने सोध्छन् ‘यो काम गरेर हाम्लाई के फाइदा रु’ फाइल टेबलमै हुन्छ तर हस्ताक्षर हुँदैन । फाइल सदर गराउन धाउँदा धाउँदा हाकिम बल्लतल्ल मञ्जुर हुन्छन् । तर तबसम्म उनको त्यहाँबाट अर्को विभागमा सरुवा भैसकेको हुन्छ । बल्ल कुरा बुझ्ने अनुभवी खास हुन्छन्, त्यतिबेलासम्म उनीहरू अवकाश हुन्छन् ।

मेशिनै छैन, टेक्निसियन छन् । मेशिन आउँछ, चलाउन जान्ने हुन्नन् । किनकि मेशिन चलाउन होइन, कमिशन तह लाउन किनिएको हुन्छ । त्यसको पनि रेट हुन्छ, जुन बजेट बनाउने बेलामै सेट हुन्छ । अन्तमा मेशिन बिग्रन्छ । अनि फेरि अर्को मेशिन किन्ने प्रक्रिया शुरू हुन्छ । 

उद्योग त छन्, तर कामदार छैनन् । कामदार पाइयो भने बिजुली पाइँदैन । बिजुली आयो भने तार खराब हुन्छन् या स्विचले काम गर्दैन ।

जसोतसो उत्पादन हुन्छ, विक्री हुन्न । जसको माग छ, त्यसको आपूर्ति छैन । जसको आपूर्ति छ, त्यसको माग छैन । माग पनि भयो, सामान सप्लाई पनि भयो पेमेन्ट आउँदैन । इमेल लेख्यो वा फोन गर्‍यो जवाफ आउँदैन । अफिसमा भेट्न पठायो भेट पाइँदैन । गुनासो गरौं, तर कोही सुन्नेवाला कुनै निकाय छैनन् । 

यात्री लाइनमा छन्, टिकट पाइन्न । टिकट पाइयो भने सिट पाइँदैन । सवारी पाए पनि समयमा चल्दैन । सेवाका लागि अनलाइन छ, साइट खुल्दैन । साइट खुल्छ अनलाइनको टाइम हुन्न । प्रिन्टर हुन्छ, कार्ड हुन्न । कार्ड आउँछ प्रिन्टर हुन्न । जब दुवै हुन्छ, सर्भर डाउन हुन्छ । 

कर्मचारी कर्मचारी जस्ता छैनन्, मन्त्री मन्त्री जस्ता छैनन् । सरकारहरू सरकारजस्ता छैनन् । नेता छन् । नेतृत्व छैन । तैपनि भेट्न खोज्यो पाइन्न । भेट्यो सुन्दैनन् । सुने पनि मनमा केही गुन्दैनन् । शिलान्यास हुन्छ । अब केही होला कि भन्ने आश हुन्छ । तर निर्माण हुँदैन । केही निर्माण पनि हुन्छन् । तर प्रयोग नभई थोत्रिन्छन् ।

देशैभरि स्कूल छन्, तर किताब छैनन् । कलेज पनि छन् । तर त्यहाँ भनेजस्तो नलेज पाइन्न । राम्रामा सजिलै भर्ना गर्न ठाम पाइन्न । नराम्रामा पढेर काम पाइन्न । जसोतसो प्रमाणपत्र हात पर्छ, तर जागीर हात पर्दैन । 

खबर भनेर विश्वास गर्‍यो, अफवाह निक्लन्छन् । अफवाह ठान्यो खबर पो हुन्छ । अपराध हुन्छन्, अपराधी पत्ता लाग्दैनन् । पत्ता लाग्यो भने पनि प्रमाणित हुँदैनन् । प्रमाणित भए पनि सजिलै छुट्छन् ।

कृषकले खोजेको मल बजारमै आउँदैन । आयो भने पनि धेरैले पाउँदैनन् । किसानले बीउ पाउँदैनन्, पाएको बीउमा दाना लाग्दैनन् । दाना लागेछ भने पनि बेच्न बजार छैन । बेच्न पायो नाफा छैन । कृषिमा अनुदान छ, तर किसानले पाउँदैनन् । अनुदान पाउनेले खेतीकिसानी नै गर्दैनन् ।

हिजोआज देशमा चलचित्र धेरै बन्छन्, तर चल्दैनन् । प्रोड्युसरले दर्शक बुझ्दैनन्, दर्शकले चलचित्र बुझ्दैनन् । 

उद्योग गर्न ऋणका लागि बैंक धायो । ऋण मिलाइदिनेलाई कमिशन खिलायो । ताकेता गर्दा गर्दा जब पू्ँजी जुट्छ, त्यतिबेलासम्म सबै थोकको बढेको भाउले उद्यमीको पसिना छुट्छ । त्यति लामो समय कुरेर उद्योग गर्न योग्य रहन्न । अझ उद्योग खोल्न भन्दा जग्गा खोज्न महाभारत । बेच्नु छ, तर खरीदकर्ता भेटिन्नन् । किन्न मन छ, तर धेरै महँगो धन छ । 

मानिस त छन् । तर मनुष्यता रहेन । देश आफ्नै हो, तर देश चलाउनेहरू आफ्ना रहेनन् । त्यसैले देश त छ, तर देशमा बस्नेहरू नरहने भए । बस्न चाहनेहरू देशमा टिक्न नसक्ने भए । योग्यहरू बिक्न नसक्ने भए ।  

एउटालाई बनाउन हतार छ, अर्कोलाई बिगार्न । एउटालाई टाल्न हतार छ, अर्कोलाई भत्काउन । खै के भएको हो, के नभएको हो । कस्तो अचम्मको देश बनाएको हो रु के के कता कता जेलिएको, को कता किन होला अल्झिएको रु न छेउको भेउ, न टुप्पो ।

तपाईं पनि यो भएन र त्यो भएन भनिरहनु हुन्छ नि, हैन रु तर हजुर ⁄ धेरै थोक पो छन् त देशमा । तपाईंहरूलाई थाहा छैन र रु देशमा कुराहरू हुन्छन् नै यसकारण कि त्यसमा ती कुरा हुँदैनन्, जसका लागि ती बनेका वा बनाइएका हुन्छन् । यस्तै त छ यहाँको चलन । बुझ्नुभो नि ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)