काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षाबाट बैकदर घटाएपछि ट्रेजरी बिल्स्को ब्याजदरमा भने सामान्य मात्र प्रभाव देखिएको छ । राष्ट्र बैंकले बैंकदर घटाएपछि बैंकको ब्याजदर पनि घट्ने दाबी गरे पनि अल्पकालीन ब्याजदर अवधिअनुसार केहीको सामान्य घटेको छ भने केहीको उल्टै बढेको पाइएको छ ।
ब्याजदर महँगो भएको भन्दै आलोचना खेपिरहेको राष्ट्र बैंकले गत शुक्रवार चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट बैंकदर घटाएको थियो । मौद्रिक नीतिमार्फत ७ प्रतिशतबाट १ दशमलव ५ प्रतिशत विन्दुले बढाएर ८ दशमलव ५ प्रतिशत पुर्याएको बैंकदर समीक्षाबाट १ दशमलव ५ प्रतिशत विन्दुले नै घटाएर ७ दशमलव ५ प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकले ५ दशमलव ५ प्रतिशतबाट ७ प्रतिशत पुर्याएको नीतिगत दर भने यथावत् राखेको छ ।
बैंकदर घटाएपछि पहिलो पटक सोमवार जारी भएको ट्रेजरी बिल्सको ब्याजदर सामान्य मात्र घटेको छ । राष्ट्र बैंकले सोमवार २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको गरी कुल २४ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल्सका लागि बोलकबोल आव्हान गरेको थियो । जसमध्ये २८, ९१ र १८२ दिने ट्रेजरीको औसत ब्याजदर सामान्य घट्दा १८२ दिनको भने बढेको छ ।
सोमवार २८ दिने ट्रेजरीमा ८ दशमलव ०८ प्रतिशत, ९१ दिनेमा ९ दशमलव ६५ प्रतिशत, १८२ दिनेमा ९ दशमलव ५० प्रतिशत र ३६४ दिनेमा ८ दशमलव ९८ प्रतिशत औसत ब्याजदर कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
गत साता भने २८ दिने ट्रेजरीमा ८ दशमलव १८ प्रतिशत, ९१ दिनेमा ९ दशमलव ७१ प्रतिशत, १८२ दिनकोमा ९ दशमलव ४४ प्रतिशत र ३६४ दिनेमा ९ दशमलव २२ प्रतिशत औसत ब्याजदर कायम भएको थियो ।
चालू आर्थिक वर्षका लागि केन्द्रीय बैंकले कसिलो मौद्रिक नीति जारी गर्दै नीतिगत दरहरू बढाएपछि बैंकको ब्याजदर पनि महँगो भएको थियो । सोही कारण सरकारले मौद्रिक उपकरणमार्फत उठाउने आन्तरिक ऋणको ब्याज पनि महँगो भएको थियो । तर, पछिल्लो समय तरलताको अवस्था सहज हुनुका साथै ब्याज घटाउने केन्द्रीय बैंकको नीतिका कारण ट्रेजरीलगायतका उपकरणहरुको ब्याज घटिरहेको छ ।
राष्ट्र बैंकले ८ दशमलव ५ प्रतिशतको बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट नीतिगत दर ७ प्रतिशत कायम गरेको छ । यसले गर्दा अन्तरबैंक ब्याजदरमा १ दशमलव ५ प्रतिशत विन्दुले कमी आएको भन्दै तेस्रो समीक्षाबाट पनि निरन्तरता दिइएको राष्ट्र कले जनाएको छ ।
तर, बैंकदर घटाउदा भने खासै प्रभाव देखिएको छैन । बैंकदरमा पाउने स्थायी तरलता सुविधा (SLF) को प्रयोग पनि घटिरहेको छ । बैंकहरुसँग निक्षेप बढेसँगै तरलताको अवस्था सहज भएपनि ऋण प्रवाह नभएकाले बैंकहरूले एसएलएफ खासै प्रयोग गरेका छैनन् । जेठ २ गते एउटा मात्र बैंकले ४ करोड रुपैयाँ एसएलएफ लिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।