ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाह दलाल, क्या कमाल !

२०८० जेठ, ५  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

देशमा बेच्न अब केही बाँकी रहेन । जंगल बेचिन्थ्यो उहिले, पञ्चायती कालमा सबैजसो जंगल दरबारीहरूका हातबाट स्वाहा/कालकवलित भयो । केही जंगलीहरूले गाउँका मान्छे लखेटेर सिध्याएपछि अहिले फेरि जंगल बढेको छ रे । अब त्यो जंगल विक्री गर्ने नयाँ पात्र तयार हुँदै नै होलान्, वैज्ञानिक वन व्यवस्थापनका नाममा । अगाडि वैज्ञानिक शब्द झुन्ड्याएपछि जे जे भकुन्ड्याए पनि भै हाल्छ क्यारे !

त्यसपछि ढुंगा, गिट्टी बेचियो । काठमाडौंका खोलाबाट, वरिपरिका डाँडाबाट र त्यसपछि बाहिरका खोला र चुरेबाट पनि । तर त्यति मात्र बेचेर पुगेन । उत्पादन बनाएर बेच्न त पैसा हुनुपर्‍यो, रंगढंग पनि हुनुपर्‍यो, व्यवसायलाई फस्टाउन दिने वातावरण बनाउनुपर्‍यो । त्यस्तो झन्झट कसले गरोस् ? त्यसैले अहिले त विदेशीलाई खोला बेचेर विदेशतिरै बिजुली बेच्ने गोरखधन्धा पनि शुरू भएको छ क्यारे ! यता भने खाडीको तेलले गाडी गुडाउँदै धूँवा उडाउँदै छौं । त्यसै बहादुर भनेका हुन् र हामीलाई कुइरेहरूले ?

व्यवसायलाई फष्टाउन दिन त सरकार, राजनीतिक दल र कर्मचारीहरूमा दरो इच्छाशक्ति हुनुपर्‍यो । यी कुराहरू केही नभएपछि अब बेच्न सजिलो भनेको देश र देशवासी त बाँकी छन् नि । त्यसैले बिचरा नेताहरू नागरिकहरूलाई नै बेच्ने बाध्यतामा पुगेछन् । सीधै बेच्न मिलेन, त्यसका लागि त दलहरू चाहियो, द–लालहरू पनि चाहियो । केही वर्ष अघिसम्म चेलीबेटी बेचिएका समाचार धेरै आउँथे । अहिले अलि कम आउँछन् । अचेल चेलाबेटा नै बेचिन्छन् । हुँदा हुँदा स्वदेशी चेलीबेटी चेलाबेटाहरूलाई विदेशी बनाएर पनि बेच्न थालिसकेछन् । पहिले पुण्य काम भन्दै कमिसनको मिसन चलाए । अहिले पोलापोल र गुप्ती खोलाखोलमा कस्सिएका छन् । यो साँपसिढी खेलमा को चढ्ने हो को खस्ने हो ठेगान हैन । नक्कलीलाई सक्कली र सक्कलीलाई नक्कली बनाउने अक्कली दलाल नेपालमै छन् ।

त्यसैले त अहिले जताततै चर्चा छ त मान्छे बेच्ने बिचौलिया र दलालहरूको । हुन पनि अहिलेको जमानामा दलाल नै राजनीतिक बजारको असली माल हो । कमालको कुरा के हो भने विनादलाली बाँकी सबै बबाली हुन्, बेकारी हुन् । नित्य नयाँ खाल्डोमा गिर्दो राजनीतिमा दलाल नै मुख्य सूत्रधार हो, दलाली नै मूलधार हो । उही नेताको साभार पनि हो, ब्रिफकेसको आधार पनि हो । बरु आउनोस् हाम्रा प्यारा द–लाल नवराजा ! बियरसँग कमिशनको चटनी चाट्दै जेल जानुस् ताजा ताजा ! तपाईंलाई यता ठूला नेताजीहरूले पनि सम्झिरहनु भएको छ, ‘तिम्लाई बंगाला कल्ले किन्दियो’ भन्दै । खासमा नेताजीको महल र पार्टी कार्यालयले तपाईंलाई मिस गरिरहेको छ । अहिले ठूला नेताजीका वाणी तपाईंका लागि ईश्वरीय वरदान सावित हुन सक्छ । कुर्नुस् है । केवल केही समयको कुरा न हो । ठूला नेताजीहरू सच्चा दलालका खोजीमा हुनुहुन्छ, तपाईंका लागि त्यो अवसर हो । किनकि तपाईंलाई थाहै छ, कुर्सीमा बस्ने बसाउने खेलमा अरूको भन्दा दलालकै भूमिका महान् हुन्छ ।

दलालले भन्दा बढी कुनै कुरा कसैले जान्न सक्तछ भने त्यो स्वयं दलाल नै हुन्छ । कुर्सी रसका रसिक दुर्जनहरूले पनि भन्छन् कि उनीहरूका दाता दलाल नै हुन् । लोकतन्त्रमा लोककल्याणका लागि यो धर्तीमा दलालहरू नित्य अवतरण भैरहन्छन् । अरू अवतारहरू त दलालत्वका निमित्त मात्र हुन् । तर दलाल र दलाली चैं सृष्टिको सार हो, जीवनको आधार हो । 

भद्रजन र सेवाग्राही भन्छन्, ‘मन्त्रीभन्दा हाकिम ठूला, हाकिमभन्दा दलाल ठूला । हेर्नुस त, केही दलालहरूले गृह मन्त्रालयलाई गिरोह मन्त्रालय बनाइदिएको ! तिन लोक चौध भुवन नै दलालकै आदेशको अधीनमा चल्छन् । कुर्सीको अस्तित्वमा मतभेद हुन सक्छ, कुर्सीकै लागि हानाहान र तानातान हुन सक्छ । वादविवाद, घातप्रतिघात जे पनि हुन सक्छ । तर दलालको अस्तित्व र प्रभुत्वमा आजसम्म कुनै मतभेद छैन, विरोध र प्रतिरोध छैन । कहिलेकाहीँ दलाल र दलालबीच दाह्रा किटाकिट चाहिँ हुन्छ, त्यसलाई अन्यथा ठान्न मिल्दैन है !

त्यसैले त दलाललाई सबैले ‘मेरे लाल’ भन्छन् र उनीहरूका कुरा खान्छन् पनि । तिनै दलालले कुर्सीतिर लान्छन्, कहिलेकाहीँ जेल तान्छन् पनि । राजनीतिमा जस्तो दलालहरूका बीचमा खाने, ख्वाउने, मान्ने, मनाउने कुराहरूमा कुनै लफडा, झगडा छैन । बरु प्रत्येक दलालले अन्य दलालहरूलाई आदर–प्रशंसा एवं पूजासहित पूर्ण सम्मान दिने गरेका छन् । त्यसैले त धेरै राजनीतिक सम्प्रदाय त केवल दलालवाणीको आधारमै कायम छन् । अनि चम्चाहरू पनि दलालका प्रशंसा गर्न कहिल्यै चुक्तैनन् । उनीहरूले त दलाली नै विकासको नयाँ बाटो भन्दै भ्रष्ट साधनामा मनसिद्धिको सम्पूर्ण श्रेय आफ्नो दलाललाई दिन्छन् । दलाल र दलालतन्त्र सर्वत्र फैलिएका छन् । यसरी प्रदेश र संघका सबै राजधानी वरपर हरक्षण दलाल प्रकट भइरहन्छन् ।

दलाल, हाकिम र नेता एकै ठाउँ खडा छन् जताजता । 
भ्रष्टाचार अनि ठगीको जालो फैलिरहेछ यता त्यता । 
जनता जसलाई ठान्दछन् लाल, ती त दलाल पो रहेछन् । 
मान्छे बनाउने होइन, मान्छे नै बेच्ने कमाल गर्दा रहेछन् । 

दलालको वाणीलाई चम्चाहरू महान् अस्त्र मान्छन् । चम्चाशास्त्रमा दलालको प्रशंसा र आभार व्यक्त गर्नका लागि ‘दलाल स्तुति’ नामक बृहत् ग्रन्थ दलाललाई नै समर्पित गरिएको हुन्छ । चम्चाहरूले उचित दलालको चुनाव गर्न पनि जोड दिँदै आएका छन् । यो संसार सागरमा केही नक्कली दलाल बनेर पनि हिँड्ने गरेका पाइन्छन् । ‘उनीहरूबाट सावधान रहँदै हामी सच्चा दलालको परिक्रमा गर्नुपर्छ । सच्चा दलालको परिक्रमा र परिभ्रमणबाट ब्रह्माण्डका सबै सुख प्राप्त गर्न सकिन्छ’ भन्छन् चम्चाहरू । दलालको स्तुतिमा चम्चाहरूले धेरै कुरा लेखेका पनि छन् । किनकि उनीहरूलाई राम्रोसँग थाहा छ, दलालकै कृपाबाट मालदार अड्डामा सरुवा, बढुवा, सरकारी संस्थानमा हाकिम र मन्त्री, मुख्यमन्त्रीको कुर्सी समेत पाउन सकिन्छ ।

त्यसैले दलालको स्मरण मात्रले पनि दिमागबाट सारा पर्दा खुल्छन् । अतः चम्चाहरू भन्छन्, दलाल साधकहरूले मन, वचन एवं कर्मले दलालवाणीलाई आत्मसात् गर्नुपर्छ । दलालहरूको हरपल जयजयकार गर्नुपर्छ । 

तपाईं पनि जीवनमा उन्नति, प्रगति गर्न चाहनुहुन्छ भने दलाल स्तुति गर्न समय छँदै शुरू गरिहाल्नोस् है !


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)