हामीले कतिपय पुराना र बिग्रिएका सामग्रीलाई पुनःप्रयोग गर्ने गरेका छौं । तर, भेनेजुयलाले भने पुराना बिग्रिएका गाडीलाई नयाँ तरीकाले प्रयोग गर्न लागेको छ, घर निर्माणमा ! भेनेजुयलाली सरकारले गतहप्ता बताएअनुसार थोत्रा कार तथा बाइकबाट निस्किएको कच्चा पदार्थ घर निर्माणमा प्रयोग हुनेछन् । त्यस्ता गाडीबाट निस्किएका स्टीलको प्रयोगले घर निर्माणमा चाहिने स्थानीय स्टीलको मागलाई केही भए पनि कम गर्न सहयोग गर्ने अनुमान गरिएको छ । ‘हामीले १० हजार ४ सय ८५ ओटा अटोमोबाइल र ५ सय ३९ ओटा साइकललाई राष्ट्रिय स्टील उद्योगमा पठाइसकेका छौं,’ न्याय उप–मन्त्री मारिया मार्टिनेजले भनिन् । राजधानी काराकासभन्दा केही पर फ्याँकिएका कार जम्मा गरिएको स्थानको भ्रमणका क्रममा उनले यस्तो गर्नु निकै फाइदाजनक हुने बताइन् । त्यसबाट निस्किएको स्टीललाई कङ्क्रिटभित्र राखिने रिबारका रूपमा प्रयोग गर्दा घर निर्माण बलियो र सुदृढ हुने उनको कथन छ ।
पूर्वराष्ट्रपति ≈युगो चाभेजको नीति ‘महान भेनेजुयलाली घर निर्माण अभियान’अन्तर्गत सन् २०१२ मा सरकारले न्यून आम्दानी भएकाहरूका लागि साढे २ लाखभन्दा बढी घर निर्माण अथवा पुनर्निर्माण गरेका थिए । गतवर्ष भने यो आकार घटेर डेढ लाखमा ओर्लिएको थियो । त्यस्तै मार्चमा भेनेजुयलामा रिबारको उत्पादन १८ महीनाकै न्यून अर्थात् ८ हजार ७ सय ९६ टनमा ओर्लिएको थियो । गतवर्षको सोही अवधिमा भने उत्पादन ४६ हजार ५१ टन रहेको थियो । भेनेजुयलाको स्टील उत्पादक कम्पनी सिडोरमा वार्षिक ५० लाख टन उत्पादन क्षमता रहेको छ । यद्यपि, ६ वर्षअघि राष्ट्रियकरण भएपछि लगातारको विरोध प्रदर्शन र अपर्याप्त लगानीका कारण कम्पनीको उत्पादन क्षमतामा कमी आएको बताइन्छ । सन् २०१२ मा भेनेजुयलाको कुल स्टील उत्पादन १६ वर्षकै न्यून अर्थात् साढे १५ लाखमा समेटिएको थियो । त्यस्तै सन् २०१३ मा भने उत्पादन थोरैले बढेर १६ लाखमा उक्लिएको तथ्याङ्क छ