काठमाडौं । एनआईसी एशिया बैंकले भिडियो केवाईसी (भीकेवाईसी)मा फिचर थपेको छ ।
यसअन्तर्गत अनलाइन भिडियो कल गरी केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने बैंकले जानकारी दिएको छ । अनलाइन खाता खोल्ने ग्राहकले भिडियो कलबाटै केवाईसी विवरण अद्यावधिक गर्न सक्ने सेवा यसअघि नै शुरुआत गरिसकेको बैंकले अहिले थप पाँचओटा सेवा यस प्रणालीमा जोडेको हो ।
उल्लिखित सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र तथा सेतो कागज र कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनुपर्ने बताइएको छ । ग्राहकको विद्यमान खातामा नयाँ विवरण राख्नका लागि केवाईसी विवरण अद्यावधिक गर्न, निष्क्रिय खातालाई सुचारु गर्न र चलिरहेको बचत खाता योजनालाई अर्कोमा परिवर्तन गर्न उक्त सेवा प्रभावकारी हुने बैंकको भनाइ छ ।