काठमाडौं । धितोपत्र बजारका लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई नै अन्तिम कर घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
नेपाल इन्भेष्टर्स फोरम,शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले बुधवार संयुक्त विज्ञप्ती जारी गर्दै धितोपत्र बजारका लगानीकर्ताबाट सरकारले उठाउँदै आएको पूँजीगत लाभकरलाई नै अन्तिम कर घोषणा गर्न माग गरेका हुन ।
विगत लामो समयदेखि लगानीकर्ताले उठाउँदै आएको पूँजीगत लाभकरलाई अन्तिम घोषणा गर्नुपर्ने मागलाई अबमूल्यन गर्दै सरकारले यस वर्षको बजेटमा करका सम्बन्धमा गरेको व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको लगानीकर्ताहरूको भनाइ छ ।
यस अघि अर्थमन्त्रालय आन्तरिक राजस्व विभागले २०७७ साल असार ५ गते नेपाल धितोपत्र बोर्डमा पठाएको पत्रमा धितोपत्रको कारोबारमा हुने पूँजीगत लाभमा अग्रिम कर असुलीको विवरण तथा विद्युतीय कर प्रणालीमार्फत दाखिला भएको अवस्थामा सम्बन्धित लाभाग्राही प्राकृतिक व्यक्तिले करचुक्ता प्रमाणपत्र लिन सक्ने उल्लेख थियो ।
उक्त निर्देशन विपरित हालको बजेटमा धितोपत्र बजारका लगानीकर्तालाई थप करको भार बोकाउने व्यवस्था गरिएकोमा लगानीकर्ताले घोर आपत्ति व्यक्त गरेका छन् ।
यस वर्षको बजेटमा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्था अन्तर्गत प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र, जग्गा तथा घरजग्गा कारोबारको आय विवरण तथा कर दाखिल गर्ने बाँकी रहेको भए आ.व. २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम २०८० साल चैत्र मसान्त भित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने उल्लेख छ ।
यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सो भन्दा अघिल्ला आर्थिक वर्षहरूको कर, शुल्क तथा ब्याज मिनाहा हुने बुँदासमेत बजेटमा समेटिएको छ । उक्त बुँदा कर विभागको २०७७ साल असर ५ गतेको पत्र विपरित भएकोमा लगानीकर्ता आक्रोसित बनेका हुन ।
आजका मितिसम्म फर्म वा कम्पनी बाहेक व्यक्ति मार्फत गरिएको कारोबार व्यवसायको रुपमा नरहेको र सो अनुसार कर विवरण बुझाउनु पर्ने शीर्षकमा नरहेको देखिएको हुनाले व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने अधिकतम ७ दशमलव ५० प्रतिशत पूँजीगत लाभकरलाई नै अन्तिम कर घोषणा हुनुपर्ने माग लगानीकर्ताले गरेका हुन ।
अन्यथा धितोपत्रबजारमा लगानी गर्ने लाखौं लगानीकर्ताहरू आन्दोलनमा उत्रन बाध्य हुने चेतावती समेत उनिहरूले दिएका छन् ।
बजेटमा गरिएको करका सम्बन्धमा अर्थमन्त्रीज्यूसँग छलफल भइरहेको र अर्थमन्त्रीबाट सकारात्मक आश्वासन प्राप्त भएकोले सम्पूर्ण लगानीकर्ताहरूलाई धैर्यता र सुझबुझका साथ हतोत्साहित नभइ लगानी गर्न समेत लगानीकर्ता संघहरूले अनुरोध गरेका छन् ।