काठमाडौं । यो वर्षको विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो वृहत साइकल र्याली आयोजना गर्ने भएको छ । आगामी जेठ २० गते( शनिवार) बिहान ७ बजे बैंकले ‘सांग्रिला साइकल र्याली २०८०’ आयोजना गर्ने भएको हो ।
बिहान ७ बजेदेखि सांग्रिला बैंकको बालुवाटार स्थित केन्द्रिय कार्यालयबाट कार्यक्रमको शुरूआत हुनेछ । र्यालीले शहरका मुख्य भागको परिक्रमा गर्दै सानो गौचरणको चौरमा गएर सो र्याली समाप्त हुने बैंकले जनाएको छ ।
बैंकले यस पटक डेभलपमेन्ट बैंकको छाता संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) सँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो । सांग्रिला डेभलपमेन्ट बैंकले अघिल्लो वर्षको विश्व वातावरण दिवसमा पनि साइकल र्याली आयोजना गरेको थियो ।
यस साइकल र्याली कार्यक्रमको लागि White Feathers Communications, Square Eighteen, Sign Pro, Axiom Nepal Pvt. Ltd, Advan Tech Trade Link, R.D Suppliers, World Distribution Nepal Pvt. Ltd, Capital Construction Pvt. Ltd, Nepal Air Conditioning Service, Raj Trading Concern लगायतका संस्थाहरुको समेत सहयोग रहेको छ ।
अघिल्लो वर्षको र्यालीमा बैंकका कर्मचारीहरु मात्र सहभागी थिए । तर, यस पटक भने विभिन्न क्षेत्रका ३०० बढी साइकल प्रेमीहरुको सहभागीता हुने बैंकको अपेक्षा छ । साइकल र्यालीमा सहभागी प्रथम ३०० सहभागी सबैलाई टिसर्टको व्यवस्था गरिएको साथै सहभागीहरु मध्ये एकजनालाई लक्की ड्रबाट साइकल उपहार समेत दिइने बैंकका सूचना अधिकारी श्री अपूर्व प्रशाद जोशीले बताए ।
यस्तै, र्यालीमा सहभागी सम्पूर्ण सहभागीलाई एउटा–एउटा बिरुवा उपहार दिइनेछ । साइकल र्यालीमा सहभागीताका लागि बैंकले अनलाइनबाट रजिष्ट्रेसन गर्न पाउने व्यवस्था समेत गरेको छ ।