ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गणतन्त्र जिन्दावाद !

२०८० जेठ, १९  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

यो हप्ता देशमा धेरै महत्त्वपूर्ण र उल्लेखनीय घटनाहरू भए ।

पहिलो त प्रधानमन्त्री प्रचण्ड पहिलोपटक दौरा सुरुवाल, इष्टकोट र कोटसहित करीब सवा सय जनाको जम्बो टेली लिएर भारत भ्रमणमा निस्किए । दिल्लीको लड्डु खाएर ४ दिनपछि नेपाल फर्कनेछन् र भन्नेछन्– भारत भ्रमण अत्यन्त सफल, फलदायी र ऐतिहासिक रह्यो । हुन पनि भारत भ्रमण कहिले असफल रहेको छ र ?

दोेस्रो घटना, कैलाली, टीकापुरमा प्रहरीहरूको हत्यामा सर्वोच्चबाट दोषी ठहर नागिरक उन्मुक्ति दलका रेशम चौधरीले सरकारको सिफारिशमा राष्ट्रपतिबाट उन्मुक्ति पाए । रेशम चौधरीविना नेपालको राजनीति, संसद् र अझ भनौं सरकार अधुरो, अपूरो जस्तो बनेको थियो । अब चौधरी झ्यालखाना बाहिर आएपछि सरकारले सही अर्थमा पूर्णता पाउनेछ । रेशमको तिलस्मी आगमनको घटनाले नक्कली भुटानी शरणार्थी (भुश) प्रकरण ओझेलमा परेको छ । यो भुश प्रकरण ठुस हुन्छ वा भुसको आगोझैं सल्किँदै जान्छ, यो थाहा पाउन भने केही समय कुर्नैपर्ला । अहिले भने रेशम फिलिली हप्ता चलिराको छ । रेशमसँगै माफी पाएका अरू स्वनामधन्यहरूको भने त्यति चर्चा छैन । उनीहरू कति मुर्मुरिरहेका होलान् कि खुशी, के थाहा ?

तेस्रो घटना, यसै हप्ता सरकारले बजेट पेश ग¥यो । बजेटमा भाइ अर्थमन्त्रीले उनका दाइले शुरू गरेको आर्थिक उदारीकरणलाई निरन्तरता दिएजस्तो छनक देखाउन होला गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्नेदेखि चुरेको ढुंगा बेच्नेसम्मका कुरा अटाए । कतिपय सरकारी संस्था, आयोग हटाए, कर्मचारीका अतिरिक्त भत्ता कटाए । वर्षमा रू. ५० लाखभन्दा बढी आम्दानी गर्नेलाई ३९ प्रतिशतसम्म आम्दानी कर ठटाए । जनताको आम्दानी बढेको थाहा पाएर होला अरू पनि केही आम्दानी कर बढाए । यसको मतलब नेपालीहरू धनी हुँदै गएका छन् र नेपाल विकसित हुने बाटोमा अग्रसर छ भन्ने संकेत गर्छ । सन् २०२६ मा एलडीसी (अल्प विकसित मुलुक)बाट डीसी (विकासशील मुलुक)मा चढ्ने रिहर्सल हो जस्तो छ यो । कमाइको ५० प्रतिशतजति कर त जनताले सोलोडोलो सजिलै तिर्ने रैछन् । हामी पनि विकसित देशभन्दा करमा के कम ? हो, करदातालाई दिने सुविधाको चाहिँ कुरा नगरम्, हामी लिनमात्रै माहिर छम् नि त ।

यसरी यो गणतन्त्रात्मक समयमा गणतान्त्रिक सरकारका भाइ अर्थमन्त्रीले ल्याएको बजेट तान्त्रिक छ । कर्मचारीको भत्ता कटाए । तर सांसद, मन्त्रीको भत्ता कायम राखे । यत्तिले नपुगेर सांसद विकास कोष पनि ब्यूँताए । अब ५ करोडको योजना खल्तीबाट निकालेर खर्च गर्न पाए अबको चुनाव नजित्ने कुरै छैन । संसदीय क्षेत्रको विकास त त्यस्तै हो, सांसदहरूले चुनावमा गरेको खर्च सजिलै उठाउन भने सक्ने भए । यो कोष गणतन्त्रमा निकै आवश्यक छ । किनकि गणतन्त्रमा नेता महत्त्वपूर्ण हुन्छन्, कर्मचारी होइनन् । त्यसैले बैठकमै नगए पनि नेताले भत्ता पाउँछन्, कर्मचारीले पाउने कुरै भएन । गणतन्त्रको विकासका दुई महत्त्वपूर्ण क्षेत्र शिक्षा र स्वास्थ्यमा अमले पहिले पहिलेजस्तो अहिले पनि बजेट राम्रै छरेका छन् । यी क्षेत्रहरूको कति राम्रो विकास भएको छ, सबैले देखेकै छन् ।

चौथो घटना, देशमा गणतन्त्र दिवस भव्य रूपमा मनाइयो । जनतामा उल्लास नभएर के भो र टुँडिखेलको आकाशमा गणतन्त्रको झण्डा घण्टौंसम्म माथि हेलिकोप्टरबाट हल्लिइरह्यो । देशमा गणतन्त्र आएदेखि नै प्रत्येक वर्ष यो दिवस भव्य समारोह गरेर मनाइने गरेको छ । अरू दिन वर्षभरि नेताहरूले गाँडतन्त्रलाई मलजल जे दिए पनि, गाँड कोराकोर गरे पनि यो दिन भने उनीहरूले गणतन्त्रको पक्षमा दमदार भाषण ठोक्ने र सन्देश दिने परम्परालाई छाडेका छैनन् । ‘गणतन्त्रकै कारण देशमा दरै उपलब्धि भइरहेको छ’ भन्न पनि छाडेका छैनन् । किनकि गणतन्त्रमा सबैलाई, खासगरी नेतालाई, जे मन लाग्यो त्यही गर्ने, बोल्ने छूट हुन्छ । शायद यसैलाई गणतन्त्रको सुन्दर पक्ष भन्ने गरिएको हो । गणतन्त्रमा नेताहरूलाई धेरै कुरामा छूटै छूट छ र त लुटको धन्दा फस्टाइरहेको छ ।

गणतन्त्र दिवसमा साँच्चै रमाइलो पो हुन्छ त । भाषण हुन्छ । सेनाका जवानहरूले सर्कस, आदि इत्यादि पनि देखाउँछन् । टुँडिखेलभित्र समारोहमा बस्ने भीआईपीदेखि रेलिङ बाहिर उभिरहेका सर्वसाधारण सबैले ताली बजाइरहेका हुन्छन् । बाहिर उभिएर ताली नबजाउने केही मानिसहरू ‘गणतन्त्रले जनतालाई के दियो र ताली बजाउने’ भनेर खासखुस गरिरहेका पनि भेटिन्छन् । त्यो देख्नेबित्तिकै भिडमा अर्कोले भनिहाल्छ– ‘चुप लाग्नुस्, यस्तो कुरा गरेर गणतन्त्रलाई खतरा निम्त्याउन खोजेको हो ?’ त्यसैले गणतन्त्रको जजसले विरोध गरे पनि त्यसले केही फरक पर्नेवाला छैन । देशमा गणतन्त्र नआएको भए उनीहरू कसरी चल्न सक्थे र के गरेर खान्थे होला, कठै ?

जे होस्, गणतन्त्र दिवसको समारोहमा मञ्चमा बोल्ने प्रत्येक दलका नेताले संविधानमा लेखिए अनुसार नै देशलाई समाजवादमा लाने भनेर प्रत्येक वर्ष भाषण गर्ने गरेका छन् । तर समाजवाद कहाँसम्म आइपुग्यो वा कहिले आउँछ भनेर भन्नै परेन । किनकि त्यो उनीहरूलाई थाहा हुने कुरा भएन । पहिले पूँजीवाद आएर अनि समाजवाद आउने हो कि सीधै आइपुग्ने हो भन्ने कुरामा भने नेताहरू आफै द्विविधामा छन् । शायद किताबको समाजवाद र हिसाबको समाजवादमा अलमलिएका छन् । त्यसैले होला समाजवाद आउँ कि नआउँ भनेर रनभुल्लमा परेजस्तो छ । किनकि समाजवाद एउटा बाटो आउन खोज्छ । तर एकथरी पार्टीकाले ‘खबरदार !त्यताबाट हिँड्ने हैन’ भन्दिन्छन् । 

फेरि समाजवाद अर्को बाटो हिँड्न खोज्छ, अर्को थरी पार्टीहरू फेरि त्यताबाट नआउन खबरदारी गर्छन् । बिचरा समाजवाद नै थकित भएजस्तो छ । तर जजसले समाजवादमा पुग्ने गणतन्त्रको बाटोलाई रोकटोक गर्न खोजे पनि देशमा गणतन्त्र भने जबर्जस्ती पूरै आइसकेकै छ, जनताका मनमनमा छाइसकेकै छ । गणतन्त्र हरेक घटनामा झल्किन्छ, चाहे बजेट बनाउँदा होस्, टीकापुर वा अरू घटनाहरूमा किन नहोस् । किनकि गणतन्त्रले समानता र समावेशितालाई राम्रै स्थान दिने गरेको छ । गणतन्त्रले को चोर, को साधु देशमा सबैलाई मान दिएको छ, सबैलाई समान रूपमा सम्मान पनि दिएको छ । तब न गणतन्त्र । बरु आउनोस् सबै मिलेर गणतन्त्रको गीत गाऔं, कविता पाठ गरौं !
भत्काइदेऊ अदालत र झ्यालखानाहरू
मिल्काइदेऊ हातमा लागेका हतकडीहरू
बन्द गर आदर्शका गीतहरू !
यहाँ कोही अपराधी छैनन्
यहाँ कोही भ्रष्टाचारी छैनन् 
यहाँ छन् त केवल नेता र दलका कार्यकर्ता 
यहाँ को चोर को साधु सबै समान् छन्
किनकि देशमा सबै महान् छन्
गणतन्त्र जिन्दावाद !!

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)