काठमाडौं । अमेरिकी अर्थतन्त्र मन्दीमा जाने चिन्ता साम्य भएको छैन । तर यो चिन्तामा कमा भने लागेको छ । गएको शुक्रवार श्रम मन्त्रालयले सार्वजनिक गरेको रोजगारी तथ्यांकले आर्थिक मन्दी आउने भयबाट अर्थशास्त्रीहरुलाई थोरै भएपनि राहत दिएको छ ।
तथ्यांकका अनुसार मेमा मात्रै अमेरिकी अर्थतन्त्रले ३ लाख ३९ हजार नयाँ रोजगारी दिएको छ । यसको अर्थ रोजगारदाताहरुले आफूहरुले भेटेको जति सबैलाई काम दिएका छन् । टार्गेट, म्याकिज एन्ड कोस्कोको मुनाफा र विक्री प्रक्षेपण सार्वजनिक गरेका थिए । प्रविधि र सञ्चार कम्पनीहरुले हजारौंको संख्यामा कर्मचारी कटौती गरिरहेका छन् ।
बैंकिङ क्षेत्रमा पनि सन् २००८/०९ को विश्वव्यापी वित्तीय संकटयताकै ठूला बैंक फेलियर देखिए । यसले फेडरल रिजर्भका कर्मचारी अर्थशास्त्री देखि प्रमुख बैंकका सीईओसम्म सबैको मुखमा आर्थिक मन्दीलाई थेगो नै बनाइदियो । तर, हरेक पटक आर्थिक मन्दीको खतराको घन्टीको आवाजलाई श्रम बजारमा देखिएको मजबुतिले केही कम गर्दै आएको छ ।
आर्थिक मन्दीको अर्थ बेरोजगारी मात्रै होइन । मन्दीमा अर्थतन्त्र खुम्चिन्छ । श्रम बजारमा देखिएको मजबुतीले उपभोक्ताहरुले अझै पनि खर्च गर्न सक्छन् भन्ने देखाएको छ । किनकि अमेरिकी अर्थतन्त्रको तीन तिहाई हिस्सा त उपभोक्ता खर्चले ओगटेको छ ।
अमेरिकी उपभोक्ताहरुसँग जागिर छ, उनीहरुले नियमित रुपमा खर्चयोग्य आम्दानी पाइरहेका छन् भने अर्थतन्त्र मन्दीको खाल्डोमा जाकिने सम्भावना कम नै हुन्छ । कम्तिमा पनि अल्पकालीन अवधिमा अर्थतन्त्र मन्दीमा जादैंन र जाने सम्भावना पनि न्युन ह्यारिस फाइनान्सियल ग्रुपका प्रबन्ध साझेदार जेमी कोक्सले बताएका छन् ।
उपभोक्ताहरु जागिरे भइरहेकै समयमा पनि जागिर गुमेपछि के खानु के लाउनु भनेर खर्च कम गर्दा आर्थिक मन्दी आउँछ । प्रविधि समेतका केही क्षेत्रमा भटाभट रोजगारी कटौती भइरहेको भएपनि अन्य केही क्षेत्रमा स्थिति ठिकै छ । केही व्यवसायहरुलाई अहिले भनेजस्तो कर्मचारी पाउन र उनीहरुलाई टिकाइरहन मुश्किल भइरहेको छ ।
यस्ता व्यवसायहरुले कर्मचारी कटौती गर्नै नचाहेको मूडिज एनालिटिक्स प्रमुख अर्थशास्त्री मार्क जान्डी भन्छन् । जागिर गुमाएपछि शुरुको बेरोजगारी भत्ता दाबी गर्दै अमेरिकामा २ लाख ३० हजारले आवेदन दिएका छन् । अर्थतन्त्र सामान्य अवस्थामा भएको बेलामा हप्तामा २ लाख ५० हजारले भत्ता दाबी गर्छन् । मन्दीको अवस्थामा दाबीकर्ताको संख्या ४ लाख नजिक नजिक हुन्छ ।
आर्थिक मन्दी छिटै आउँछ भनेर विश्वास गरेका अर्थशास्त्रीहरुले भने जागिरहरु नगुमीकन पनि अर्थतन्त्र खुम्चिन सक्ने बताएका छन् । आर्थिक मन्दी नै आयो भने पनि श्रम बजार तुलनात्मक रुपमा बलियो नै हुने एचआर व्यवस्थापन कम्पनी युकेजीका श्रम अर्थशास्त्री डेभ गिल्बर्टसन बताउँछन् ।
यो पटकको मन्दी जागिरले भरिपूर्ण हुने उनको ठोकुवा छ । यस्तो खालको मन्दी दोस्रो विश्व युद्धमा देखिँदै नदेखिएको उनको भनाइ छ । सुदृढ श्रम बजारले अमेरिकी अर्थतन्त्रलाई मन्दीबाट बाहिर राख्छ भन्ने सोच वा आशा केहीको छ । यस्तो सोचाई राख्नेमध्ये एक जना चाँहि केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेल हुन् ।
गएको १४ महीनामा फेडले ब्याजदर ५ प्रतिशत अंकले बढाएको छ । बेरोजगारी दर साढे ३ प्रतिशतमा छ । यो आफूहरुले ब्याजदर बढाउन शुरु गर्दाको भन्दा कम भएको पावेलले एक महीना अघि भनेका थिए । अर्थतन्त्र मन्दीमा जाने भन्दा मन्दी छल्ने सम्भावना उनले बढी देखेका छन् ।
मन्दी नै आएपनि यो हलुका खालको हुने उनको भनाइ छ । अवस्था जे भएपनि उपभोक्ता खर्च घटेको छैन । खर्चले निरन्तरता पाइरहेको छ । टार्गेट वा कोस्टको जस्ता स्टोरहरुमा पहिलाको जत्ति खर्च गरेका छैनन् होलान् । खर्च अन्यत्र भइरहेको छ ।
अमेरिकाको श्रम बजार अहिले नै सुस्ताइसकेको छैन । यो वर्ष हरेक महीना औसतमा ३ लाख १४ हजार आसपासले रोजगारी पाइरहेको श्रम विभागको सर्वेक्षणले देखाएको छ । यो अघिल्लो वर्षको पहिलो पाँच महीनाको भन्दा चाँहि एक तिहाई जति कम हो । तर ऐतिहासिक रुपमा हेर्दा कर्मचारी भर्ती निकै मजबूत छ ।
महामन्दी सकिएपछि, सन् २०१० देखिको १० वर्ष, अनि कोभिडका कारण उथलपुथल शुरु हुनु अघि रोजगारदाताहरुले मासिक औसत १ लाख ८३ हजार नयाँ रोजगारी दिएका थिए । यो अहिलेको भन्दा दुई तिहाईभन्दा पनि थोरै हो । गएको वर्ष त फेडले महँगीमा अंकुश लगाउन आक्रमक रुपमा ब्यजादर बढाएकोले पनि श्रम बजार सुस्त बनेको थियो ।
प्रविधि समेतका केही क्षेत्र सुस्ताएको भएपनि अर्थतन्त्रका अन्य क्षेत्रहरु तात्तातो नै रहेको शुक्रवारको रोजगारी तथ्यांकले देखाएको छ । समग्रमा भने अर्थतन्त्र मन्दीको नजिक हुँदै नभएको जिरिक्रुइटर्जकी प्रमुख अर्थशास्त्री जुलिया पोल्लाक भन्छिन् । एजेन्सी