रौतहट । रौतहटका नगर क्षेत्रमा भुक्तानीका लागि डिजिटल माध्यमको प्रयोग बढेको छ । विशेषगरी क्यूआर स्क्यानको सुविधाका कारण बजारमा किनमेलका लागि नगद नै बोकेर हिँड्नु पर्ने अवस्था नरहेको चन्द्रपुरका स्थानीय सागर हुमागाईंले बताए । ‘बैंक खातामा पैसा छ भने सजिलैसँग क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ,’ उनले भने ।
किराना पसल, औषधि पसल, मासु पसल, स्टेशनरी, खाजा पसल लगायतमा क्यूआर स्क्यानको प्रयोग बढिरहेको उनको भनाइ छ । किनमेल गर्दा पैसा सकिने, खुद्रा पैसा नहुने जस्ता व्यावहारिक समस्या कम हुने भएकाले पनि क्यूआरमार्फत भुक्तानी बढ्दै गएको उनको भनाइ छ ।
उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टीका घिमिरेले खुद्रा पैसा नहुँदा ग्राहक ठगिने गरेकोमा क्यूआर कोडमार्फत भुक्तानी हुन थालेपछि यो समस्या हटेको बताए । उपभोक्ता र व्यापारी दुवैसँग खुद्रा पैसा नहुँदा समस्या हुने गरेकोमा यस किसिमको भुक्तानीले समस्या समाधान भएको उनको अनुभव छ । उपभोक्तालाई सहज तरीकाले रकम भुक्तानीका लागि डिजिटल कारोबारलाई प्रोत्साहन र क्यूआर कोड विस्तारलाई प्राथमिकता दिँदै आएको बंैकका कर्मचारीहरू बताउँछन् ।
एनआईसी एशिया बैंक चन्द्रपुर शाखाका प्रबन्धक लक्ष्मण गिरिले अधिकांश व्यापारीले क्यूआर कोड लिएको बताए । अनलाइन मोबाइल बंैकिङ लिनेको संख्या बढेसँगै डिजिटल वालेट तथा क्यूआर कोडको प्रयोग गर्नेको संख्या पनि बढेको उनको भनाइ छ । क्यूआर कोड लिएका अधिकांश व्यापारी यसप्रति सकारात्मक रहेको उनको बुझाइ छ ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाले बैंक तथा वित्तीय संस्थाबाट अधिंकाश व्यवसायीले क्यूआर कोड लिएको बताए । नगर क्षेत्रका हरेक व्यापार तथा व्यवसायमा क्यूआर कोडको प्रयोग बढेकाले उपभोक्तालाई नगद बोक्नुपर्ने झन्झट कम भएको उनको भनाइ छ । पछिल्लो समय सबैजसोले मोबाइल बंैकिङको सुविधा लिएकाले बजारमा कुनै सामान खरीदका लागि नगद नै बोक्नुपर्ने अवस्था नरहेको उनले बताए ।