काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको कान्तिपुर मिडिया ग्रुपको कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड (केटीभी)ले पाँच वर्षमा १ अर्ब ६० करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
रेटिङ कम्पनी इक्रा नेपालका अनुसार केटीभीले वित्तीय वर्ष २०१९ मा ३७ करोड ५० लाख रुपैयाँ, २०२० मा ३१ करोड २० लाख रुपैयाँ, २०२१ मा ३२ करोड ४० लाख रुपैयाँ र २०२२ मा ३७ करोड ८० लाख रुपैयाँ सञ्चालन नाफा गरेको हो । यस्तै केटीभीले वित्तीय वर्ष २०२३ को ९ महीनामा मात्रै २१ करोड १० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
सन् २००० मा स्थापना भएको केटीभीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । केटीभीले इक्राबाट बि प्लस रेटिङ पाएको छ ।
केटीभीअन्तर्गत हाल कान्तिपुर टेलिभिजन र कान्तिपुर सिनेप्लेक्स एचडी सञ्चालनमा रहेको छ । कम्पनीमा ११ जना सेयरधनी छन्, जसमध्ये कम्पनीको २९ प्रतिशत हिस्सा कैलाश सिरोहियाको छ ।