ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भैंसी महात्म्य

२०८० जेठ, २६  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

स्कुलमा गुरुले गाईको मात्र निबन्ध लेख्न लगाए । भैंसीको निबन्ध कहिल्यै लेख्न भनेनन् । दुवैले दूध दिने भए पनि समानताको सट्टा यसरी भेदभाव कसरी गर्न सकेका होलान् गुरुहरूले ? शदियौंदेखि हेपिएका भैंसी र राँगाको माहात्म्य प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि भने अकस्मात् पुनरावृत्त भएको छ । भैंसी र प्रचण्डको सम्बन्ध पनि गजबको छ भन्या ⁄ आफूलाई महान् नास्तिक भनाउने उनी कहिले भैंसी पूजा गर्छन् त कहिले भैंसीको लोग्ने राँगो दानमा थाप्छन् । सत्य युगमा गाईदान महादान थियो । तर अहिलेको युगमा भैंसीदान महादान भो । एउटै राँगाको मूल्यमा दर्जनौं गाई किन्न पुग्ने भएकाले अब गाईको सट्टा भैंसी महिमा नै गाउनुपर्‍यो नि होइन ?

हरेक माहात्म्यको शुरूमा श्रीगणेशाय नमः भनेजस्तै महिष अर्थात् भैंसी माहात्म्यमा भने दातायै नमः भन्नुपर्छ । तीन÷तीनओटा प्रधानमन्त्रीको याचना सुनेर

पुरुष भैंसी (राँगो) दिने महान् छिमेकीको गुणगान नगाई त यो माहात्म्य नै तयार हुँदैन । त्यसैले त कानून निर्माणको सर्वोच्च थलोमा पनि सबै काम छाडेर हिजोआज भैंसी माहात्म्य वाचन भइराछ ।

भन्ने नै हो भने हरेक हिसाबले गाईको जति महत्व छ, भैंसीको त्योभन्दा धेरै छ । कृषि र पशुपालनमा गाईभन्दा भैंसीकै योगदान बढी छ । पहाडतिर गोरु जोत्छन्, तराईतिर गाईपुत्र गोरु र भैंसीपुत्र राँगो दुवै । भैंसी चराउने त देशमा राष्ट्रपति नै भइसके । दूध पनि भैंसीले बढी दिन्छ । बढी छाला, मल भैंसीकै हुन्छ । हलो र गाडा तान्न पनि गोरुभन्दा राँगा नै बढी तगडा हुन्छन् । अझ नं १ प्रसिद्ध खाजा मम त भैंसी र राँगाको मात्रै बन्छ, गाईको थाहा छैन । तर, यति धेरै उपयोगिता भएको भैंसीलाई गाईको तुलनामा अपहेलना किन गरेका होलान् ? 

भैंसीलाई हेप्नुको नि सीमा हुन्छ नि, ‘भैंसी लड्यो है माया भिरबाट हेर’ रे, मानौं गाई चाहिँ कहिल्यै लड्दैनन् । अनपढलाई गाली गर्न परे ‘काला अक्षर भैंसी बराबर’ रे । ‘अरूको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी नदेख्ने’ उखान जोडिहाल्छन् । कुनै पटमूर्ख, बेकुफ, फोहोरी मानिस देख्यो कि प्याच्च आइहाल्छ, ‘कस्तो भैंसी जस्तो’ । अझ कोही मोटी महिला मन परेन भने ‘भैंसी’ रे । अब भो त ? यो त अति भो नि ।

तर यसपालि हाम्रा प्रधानमन्त्री भारत भ्रमणमा गएर आएपछि भने राँगाभैंसीको पनि महत्व र चर्चा बढेको छ है ⁄ हाम्रा प्रमलाई भारतीय प्रमले १५ ओटा मुर्रा

राँगा दान गरे रे । भैंसीको धेरै महत्व भएरै त दिनेले दिए, लिनेले लिए । अब पहिला भैंसी र पछि राँगा किन भने, किन लिए भन्नेतिर चाहिँ ध्यान नदिएकै जात्ति । प्रचण्डजी पीतवस्त्रधारी भएपछि राँगो पनि भैंसी देखिएको हुन सक्छ । जे होस् भैंसीले प्रचण्डको प्रशंसा गर्नैपर्छ, जसका कारण पत्रपत्रिका, सामाजिक सञ्जाल, कोठाचोटा सबैतिर भैंसीको कुरा छाएको छ । मिडियामा भैंसीका फोटाले राम्रै स्थान पाएको छ ।

दक्षिणी छिमेकी पनि गज्जपकै छ भन्या । विमानस्थलका लागि हवाई रूट होस् या बंगलादेश बिजुली पठाउने बाटो चैं दिँदैन, आनाकानी गरिरहन्छ । तर भैसी चैं दिन्छ । भारतीय प्रमले गाईको साटो भैंसी दान किन गरे त भनेर एकथरीलाई टेन्सन भाको रहेछ । यसमा टेन्सन लिने कुरै छैन । दक्षिणका बडाकाजीले नेपाली जनताको सेन्टिमेन्ट क्यास गर्न भैंसी दान गरे वा नेपालमा भैंसीको मम लोकप्रिय छ भन्ने थाहा पाए, उनै जानुन् । तर जोसुकैले जेसुकै भनुन् चाहे ममका लागि होस् वा प्रमका लागि नेपाललाई यो भैंसी नामक चारखुट्टे अति आवश्यक छन् । उसले नदिए पनि बुढाखाडा राँगा र भैंसी त रातारात बोर्डर काटेर नेपाल आइहाल्छन् क्यारे । अहिले बलिया आउन आँटे, फरक त्यति मात्रै हो ।

तर यता कतिपय दुईखुट्टे चारखुट्टे विद्वान्, विश्लेषकहरू नागरिकता विधेयकले दक्षिणका नागरिकलाई नागरिकता दिने भयो भनेर रोइलो गर्न थालेका छन् । अब लोकल भैंसीका लागि राँगासमेत उतैबाट आउने भएपछि मान्छे त यसै पनि आइहाल्छन् नि । बरु रैथाने राँगाहरूलाई बढी पीर पर्नु स्वाभाविक छ । आफ्नी प्यारी भैंसीलाई जबरजस्ती मुर्रा राँगाको जिम्मा लगाएको देख्दा उनीहरूको मन कति कुँडिएको होला ? अझ, आफूलाई वनको स्याउलासोत्तर अनि मुर्रालाई भने खाद्य उद्योगका रेडिमेड दानापानी । यस्तो भेदभाव देख्दा मन कति कटक्क काटेको होला ⁄अनादिकालदेखि नेपालीलाई दूध खुवाउने, हलो जोत्ने, गाडा तान्ने स्थानीय राँगा भैंसीको गुन चटक्क बिर्सेर मुर्रा राँगाका पछि लाग्ने मानिस कत्ति बैगुनी भन्दै होलान् तिनले । कति टुहुराहरू यिनै रैथाने भैंसीका दूध खाएर बाँचे, कति लालाबालाहरू यिनकै दूधले बलियाबांगा भए । उहिले यही भैंसीको घ्युले नेपालको अर्थतन्त्र चल्थ्यो । अहिले के तन्त्र चलाउन यसो गरेका होलान् कुन्नि ?

र्को कुरा, गाईको गहुँत, गोबर जम्मै चोखो हुने भैंसीको चोखो नहुने किन ? नेपालको संविधानको धारा १८ मा समानताको अधिकारको कुरो छ । धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हकको प्रत्याभूति छ । राँगाभैंसीहरूलाई यो अधिकार खै त ? संविधान त सबैका लागि समान हुनुपर्ने हैन र ? मान्छेलाई त भएन भएन, तर कमसेकम जनावरलाई त होस् समानताको अधिकार । संविधान बनाउने, नियमकानून बनाउने संसद्मा पनि रैथाने राँगाका बारेमा चैं कसैले पनि छलफल समेत नगर्ने ?

उस्तै दूध दिने गाईलाई माता भनेर पूजा गर्ने, अनि भैंसीलाई चाहिँ बलि दिने ? गोरुले भन्दा दुई गुना बढी भारी बोक्ने राँगालाई हेला गर्ने ? तराईतिर भैंसा–गाडा चलाउँदा पहाडतिर राँगा–गाडा चलाउन नहुने ? नियम भनेको सबैमा समान रूपमा लागू हुनुपर्छ भन्ने प्राकृतिक न्यायको सिद्धान्त छ, हैन र ? तर यो कुरा राँगा भैंसीमा लागू भएको छैन त । किन ?

दूध खानेको मासु खानु हुँदैन भनेर शास्त्रमा कह्याको छ । तर दूध खाने अनि काटेर खाने ‘ड्र्याकोनियन’ कानून भैंसीमाथि लादिएको छ । यत्रो विभेद हुँदा पनि  जनावरवादीहरू भने अहिलेसम्म चुँक्क बोलेका सुनिएका छैनन् बा ⁄ कतै ती पनि गुपचुपमै भैंसी पूजा गर्नतिर लागे कि क्या हो हँ ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)