काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड २२औं वर्षमा प्रवेश गरेको छ । विगत २१ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको यस संस्थाको हालसम्म निक्षेप संकलन रू. ७ अर्ब २६ करोड तथा कर्जा रू. ६ अर्ब २ करोड प्रवाह भएको बताइएको छ । संस्थाको चुक्तापूँजी रू. १ अर्ब १ करोड २१ लाख ७६ हजार रहेको छ ।
संस्थाले विगत ५ वर्षदेखि वार्षिक रूपमा ललितपुरको बुंगमतीमा रहेको अपांग सेवा संघलाई खाद्यान्न सामग्री सहयोग गर्दै आएको छ । वार्षिकोत्सवको अवसरमा उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिनेगरी सम्झौता गरिएको बताइएको छ । २१औं वार्षिकोत्सवको अवसरमा नि:सहाय सेवा सदन, शान्तिनगरका ज्येष्ठ नागरिकलाई भोजन उपलब्ध गराइएको संस्थाले जानकारी दिएको छ ।
संस्थाका प्रधान कार्यालय समेत २३ शाखा कार्यालय र ४ एक्सटेन्सन काउन्टर छन् । संस्थाले एटीएम कार्ड, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, ईसीसी, आरटीजीएस, आईपीएस, कर्पोरेट पे, क्यूआर पेमेन्ट, सेफ डिपोजिट लकर, टपअप सुविधा, रेमिट्यान्स लगायत सेवा उपलब्ध गराउँदै आएको बताइएको छ । व्यक्तिगत निक्षेप खाताका लागि रू. ५ लाखसम्मको निक्षेप बीमा गरिएको संस्थाले जानकारी दिएको छ ।