पोखरा । पर्यटकीय नगरी पोखरामा ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस महोत्सव’ शुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा शुरु भएको महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरे ।
महोत्सवअन्तर्गत आज ड्रागन बोट रेसको पहिलो चरणको खेल सम्पन्न भएको छ। यसमा चीनको सिचुआन ड्रागन बोट टिम पहिलो नम्बरमा छ । यस्तै, दोस्रो नम्बरमा नेपालको नारा ड्रागन बोट टिम, तेस्रो नम्बरमा चीनको युनान ड्रागन बोट टिम छ।
पहिलो चरणमा विभिन्न ८ टिममा डेढ सय जनाले प्रतियोगितामा सहभागी थिए। पहिलो दिन दुई सय मिटर र दोस्रो दिन पाँच सय मिटर गरी आठओटा बोट रेस प्रतियोगिता हुनेछ। प्रतियोगितामा विजेताले २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन्।