ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तनहुँको सिद्ध गुफा : ८ सय मिटर भित्र ९६ मिटर अग्लो भिर, अध्यारोमा र्‍याप्लीङ खेल 

२०८० असार, ११  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

तनहुँ । नेपालकै ठूलो दाबी गरिएको तनहुँको सिद्ध गुफाको उचित प्रवर्द्धन हुन नसक्दा ओझेलमा परेको छ ।  नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा पर्ने यो गुफा बन्दिपुर पुगिसकेपछि छुटाउनै नहुने ठाउँ हो । यो नेपालको मात्र नभई एसियाकै सबैभन्दा ठुलो गुफा मानिन्छ ।

पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट २ किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुन्द्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्छ ।  विशाल पहाडको काखमा हरियाली वन जङ्गलले घेरिएको प्राचीन तपोभूमि जस्तै अनुभव गर्न सकिने यो ठाउँमा पुगेपछि जो कोहीको मन पुलकित हुन्छ ।   यहाँ पुग्ने जो कोहीलाई आकर्षित गर्ने गुफाको प्रवेशद्वारमा पुग्ने बित्तिकै भित्रबाट आउने चिसो हावाले पैदल यात्राको सबै दुःख भुलाउँछ । 

सिद्ध गुफालाई बन्दीपुरकै गहनाको रुपमा मानिन्छ । केही भागमा छिपछिपे पानी भएपनि घामको प्रकाश नहुने भएकाले लेउ नलाग्ने हुँदा चिप्लो पनि छैन ।करिब ५०० मिटर भित्रसम्म हिडेपछि गुफाको आकार झनै ठूलो छ ।  लगभग ८०० मिटर लम्बाइ रहेको यो गुफामा लाखौंको सङ्ख्यामा चमेरा रहेका छन् । ठूलो सङ्ख्यामा चमेरा गुफाबाट एकै पटक बाहिर निस्कँदा घामै छेक्ने गरेको छ । गुफाभित्र चुन ढुङ्गा पग्लेर बनेका अनेकौं आकृति हेर्न लायक छन् । कतै भगवानको मूर्ति त कतै चराचुरुङ्गी र जनावरका तथा विभिन्न आकृतिहरु भेटिन्छन।   

भर्‍याङको सहायताले तल झरेपछि सबैभन्दा फराकिलो ठाउँ पुगिन्छ । जहाँ सहासिक खेल र्‍यापलिङ (अध्यारो गुफा भित्रको भिरमा डोरीको सहायताले माथिबाट तल झर्ने खेल) समेत गरिने गर्छ । ९६ मिटर अग्लो भिरमा र्‍याप्लीङ शुरू गरिएको एक दशक भइसकेको छ ।
शिव भगवानको विशेष पूजा गरिने गुफामा श्रावण महिनामा बोलबमको मेला समेत लाग्ने गर्छ । गुफामा समय समयमा साधुहरू आएर पूजापाठ तथा साधना गरी बस्ने गरेका छन् ।

शिद्ध गुफा विकास समितिले गाइडको पनि व्यवस्था गरेको छ । गाइड लिएर गएमा थप शुल्क लाग्छ । गुफा अध्यारो हुने भएकाले चहकिलो टर्च लाइटको आवश्यकता पर्दछ । समितिले नेपालीका लागि ५० रुपैयाँ र विदेशी नागरिकका लागि १०० रुपैयाँ प्रति व्यक्ति प्रवेश शुल्क लिने गरेको छ ।

यस्तै एक जनादेखि १० जनासम्म पर्यटकका लागि २ सय रुपैयाँ शुल्क लिएर टर्च लाइट र गाइड उपलब्ध गराउँदै आएको छ । दक्षिण एसियाकै ठूलो दाबी गरिएको तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफा पर्याप्त प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । 

नेपालकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बन्दीपुरमा अवस्थित यस गुफाको प्रचार–प्रसार हुन सके यस ठाउँकै विकासमा अवस्य टेवा पुग्नेछ। 

सुनिल शर्मा /आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)