हुँदा खानेहरू मात्र होइन, हुनेखाने नेपालीहरू पनि सामर्थ्यले भ्याएसम्म हुलका हुल देश छाडेर विदेशतिरै ‘लम्क लम्क लम्क हे नौजवान हो’ गरिराछन् । किन होला ? पैसा ख्वाएर, लात्ती र अपमान सहेर, भकुन्डिएर, झुन्डिएर, लखेटिएर जसरी पनि मुलुक छाड्नु आवश्यकता होला कि बाध्यता ? देखासिकी होला कि लहैलहै ? जाने मात्रै हो र ? बलजफ्ती पठाउने बाबुआमा पनि छन् भन्या !
खासमा त देश भनेको यहाँका शासकहरू पो रहेछन् । सर्वसाधारणलाई त नुन, तेल, तरकारी, आदि पाए पुगिहाल्छ नि हो, दुई दिनको जिन्दगीमा ।
कोही भुटानी बनाएर नेपालीलाई अमेरिका छिराउन प्रयास गर्दै, कोही मेक्सिकोको सीमाबाट अवैध रूपले अमेरिका छिर्दै । कोही रसियन सेना बनेर लड्दै त कोही युक्रेनबाट लड्दै । देशभित्र बहादुरी देखाउन नपाएर कि नसकेर यी भाडाका सेना बन्न गाका होलान् ? यसरी नेपालबाट वैध वा अवैध बाटोबाट यति ठूलो संख्यामा नेपालीहरू निरन्तर विदेश छिर्न किन परेको होला ? तपाईंलाई ताजुप लागेको छ ? छक्क पर्नुभएको छ कि आश्चर्यमा ?
छक्क पर्नै पर्दैन । सबैले भन्छन् पैसा कमाउन विदेश गएको । तर, नेपाली गरीब भएर विदेश गएकै होइनन् । उपायहीन र आर्थिक स्रोतविहीन मान्छे पचासौं लाख रुपैयाँ र महीनौंको समय खर्चेर विदेश जान सक्छ र ? किमार्थ सक्तैन । लाखौं खर्चेर विदेश हानिन सक्ने क्षमता कसरी आयो ? नेताहरूले देशलाई त स्वर्गैसरी बनाइसकेका छन् त । नेपालीलाई त उनीहरूले कुबेर नै बनाइसकेका रेछन् । त्यै भएर पो अहिले विदेश जानु नेपालीका लागि पानीपँधेरो सरह छ । त्यसैले त बसपार्क भन्दा प्लेनपार्कमा बढी भीड छ ।
नपत्याए हेर्नुस् त । वर्षकोे झण्डै ५० खर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा नेपालीले विदेश लगेको तथ्यांक छ । घुमन्ते पर्यटक भएर, शिक्षाटन र भिक्षाटन गरेर, स्वास्थ्य पर्यटक अर्थात् बिरामी टुरिष्ट बनेर । यसरी प्रत्येक वर्ष शिक्षाका लागि करीब ४ खर्ब, स्वास्थ्यमा अढाई खर्ब र अरू वैध–अवैध पूँजी पलायन करीब ४ खर्ब रुपियाँ देशबाट फुत्त फुत्त बाहिरिइरहेको छ । अमेरिकीलाई धनी बनाउन, साउदी अरबलाई झिलिमिली पार्न धेरथोर योगदान नेपालीको पनि छ । त्यसैले न नेपाल गरीब छ न नेपाली गरीब । जाबो अर्काको देशमा पुग्न यतिका धेरै रकम तिर्न सक्ने कसरी हुन्छ गरीब ?
डलर बोक्दा समातिन्छ अनि त्यत्रो पैसा सजिलै विदेश लैजान पाइन्छ र भन्नुहोला । किन नपाउनु ? मान्छे नै तस्करी हुने देशमा जाबो पैसाको के कुरा ? चुट्कीको भरमा विदेश पुग्छ । हुन्डीवालादेखि भुँडीवालसम्म, एनआरएनएदेखि ज्वाइँनारानसम्म, साथीभाइदेखि हाईहेलोका चिनजानसम्म सबैले सघाएपछि अघाउन्जेल पुग्छ पैसा विदेश । यसमा नेपालको माथ्लो वर्गका राजनीतिज्ञ, कर्मचारी, व्यापारी र आफूलाई अभिजात ठान्नेहरूको भरपूर सहयोग रहेकै हुन्छ ।
कोही भन्छन् नेपालको शिक्षा गुणस्तरीय नभएर विदेश जान परेको रे । होइन नि । नेपालमा पढेकाहरूले विदेशमा टन्न छात्रवृत्ति पाइराछन् । विदेशीले नेपाली विद्यार्थीलाई तानी तानी लैजानुपर्ने, छानी छानी छात्रवृत्ति दिनुपर्ने बनाएको त यहीँका शासकहरूले, यहीँका विद्यालय/विश्वविद्यालयले हैन र भन्या ? अनि शासकहरूले यो गरेनन् र त्यो गरेनन् भनेर गाली मात्र गरिरहने ?
त्यसैले यो कसैले चिन्ता लिनुपर्ने बिषय नै होइन । वास्तवमा देशप्रेमको नारा नै बकवास भैसक्यो । देश भनेको के हो ? चुच्चे नक्सा हो ? सिमाना हो ? माटो हो? हिमाल, पहाड, नदी हो? भूगोल हो ? झण्डा हो ? राष्ट्रिय गीत हो? दौरासुरुवाल हो ? खासमा त देश भनेको यहाँका शासकहरू पो रहेछन् । सर्वसाधारणलाई त नुन, तेल, तरकारी, आदि पाए पुगिहाल्छ नि हो, दुई दिनको जिन्दगीमा । पहिले देश राजा थियो । अहिले भने देशको परिभाषा अलिअलि फेरिएको छ । अहिले चैं देश भनेको नेता हो र अझ अभिनेता हो ।
पछिल्लो कालखण्डमा देश भनेको संघ हो । प्रदेश हो। कि स्थानीय तहहरू पनि हुन् । अर्थात् शासक वर्गको स्वार्थ नै देश हो । खै कुरा बुझेको ? यसरी आफ्नो अलिकति पनि स्वामित्वमा नभएको देश जनताको देश कसरी हुन्छ ? अनि आफ्नो देश नरहेपछि मान्छे त्यो देश भनेर बसिरहन्छन् कि देश खोज्दै विदेशका गल्ली गल्ली भौंतारिन थाल्छन् ?
अबुझहरू सजिलै भन्छन् कि देश भनेको जनता हो । तर, कुन जनता ? श्रमिकहरू ? कि दरबान, कुल्ली र कान्छा, कान्छीहरू ? माटो खोस्रिएर घस्रिन खोज्ने गरीब गाउँलेहरू कतै देश हुन सक्छन् ? उनीहरू कसरी देशको परिभाषाभित्र पर्छन् र ? चुनावको बेलाबाहेक अन्य बेला नचाहिने ती पनि देश हुन्छन् र ?
देश भनेको जहिले पनि शासकले आज्र्याको हो न कि सामान्य नागरिकहरूले । त्यसैले देश शासकहरूको मात्र हो कि तिनका आसेपासेको, न कि जनताको । यो देश सक्नेहरूको हो अर्थात् ठेट नेपाली भाषामा भन्नुपर्दा यो देश भालेहरूको हो ।
यो देश कसको ?
यो देश कसको भालेको
भित्रभित्रै टालेको
बिजुलीबत्ती नबालेको
गुण्डा बदमास पालेको ।
देशलाई ठेक्कामा हालेको
नैतिकता सबै फालेको
छिमेकीले चाल चालेको
टायरहरू धेरै बालेको
पुरानो राजा फालेको
नयाँ बन्न थालेको ।
पोथी होइन, भालेको
नियत ठीक छैन लालेको
सत्ताको चाल चालेको
आफ्नैलाई जेल हालेको
कांग्रेस कि एमालेको
कि बूढा नेता र्यालेको ?
हाम्रालाई पालेको
राम्रालाई फालेको
नियम कानून टालेको
निमुखालाई गालेको
दौरासुरुवाल फालेको
विदेशी पोशाक हालेको ।
दशकौं सत्ता समालेको
काण्डै काण्ड निकालेको
भ्रष्टाचारले गालेको
पशुपतिमा जलहरी हालेको
दलालतन्त्रलाई पालेको
देशलाई नर्कमा पसालेको ।
मुखमा राम कसेको
भित्रै छुरा धसेको
नयाँ जोगी पसेको
खरानी धेरै घसेको
यो देश कसको भालेको
भित्रभित्रै टालेको ।।