ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बडे नेताका बडा योजना

२०८० असार, २९  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

महाविपत्तिका कारण केही दिनदेखि संसद् चल्न सकेको थिएन । तर देशका तीन ठूला नेता हतार हतार एक आपसमा भेटेर गम्भीर छलफल गरेपछि फ्याट्ट संसद् खुलिहाल्यो, महाविपत्ति त छुमन्तर भइहाल्यो । नेताहरू देश र जनताप्रति कति गम्भीर छन् भन्ने यो एउटा उदाहरण हो । जब जब देशमा कुनै समस्या पर्छ, त्यसबेला ठूला नेताहरू मिलेर त्यस्ता समस्या हल गर्ने गरेका छन् । ठूला नेताका ठूलै चाला । 

नेताहरू लडेकै कारण त देशमा गणतन्त्र आयो, यो भिन्दै कुरा हो कि त्यस क्रममा केही सामान्य मान्छे मरे होलान्, शहीद घोषणा गरिए होलान् । तर नेताहरूको महान् त्यागको अगाडि अरूको के गणना गर्नु र ? 

नेताहरूले देशका लागि गर्नुविधि गरिराछन् । तर आँखामा पट्टी बाँधेका जनता त्यो देख्दैनन् । नेताहरूले देशैभरि भ्यू–टावर बनाएका छन् । काठमाडौंमै धरहरा पुन: ठड्याएका छन् । तर मान्छेहरू कुरै नबुझी भ्यु–टावर के काम भन्छन् ।

धरहरा/भ्यू–टावर किन बनाएको भने देशभरि आएको विकासको लहर हेर्न । त्यहाँ माथि चढेर समृद्धि र विकास कहाँसम्म आइपुग्यो भनेर हेर्न मिल्छ । ग्याँसको पाइप कहाँसम्म लाग्यो, पानी जहाज कहाँ आइपुग्यो हेर्न मिल्छ । अझ भ्यू–टावरबाट चन्द्रमातिर जान सजिलो पर्छ । रावणले गर्न बाँकी राखेको स्वर्ग जाने बाटो झैं । मान्छेहरूलाई थाहै छैन । हाम्रा नेताहरूले त्यही भ्यू–टावरबाट चन्द्रमा जाने बाटो बनाउन कम्मर कसेका छन् । देशभित्र डाँडाकाँडा, कुना कन्दरासम्म बाटो खनिसकेकाले अब देशमा बाटो बनाउने कतै ठामै बाँकी छैन । अनि चन्द्रमा जाने बाटो बनाउन परेन त ? नेताहरूको कति दूरदृष्टि हुन्छ सामान्य मान्छेले भेउ नै पाउँदैनन् भन्या !

नेताहरू अब नेपाली जनताका सुविधाका खातिर सगरमाथा हुँदै चन्द्रमासम्म बाटो पुर्‍याउने योजनामा छन् । त्यसैले उनीहरू समय समयमा गम्भीर छलफलमा जुटेका हुन्छन् । एलन मस्कले मंगल ग्रहमा मानव बस्ती बनाउने योजना ल्याएपछि हामी के कम भन्दै ५ वर्षभित्र नेपालबाट चन्द्रमासम्म पुग्ने बाटो बनाउने योजना बनाएको विशेष सूत्रबाट थाहा भएको छ । यो पहिलो विशेष हवाई सडक परियोजना हुनेछ, जसबाट प्रकृतिलाई कुनै नोक्सान पुुग्दैन । किनकि यो बाटोमा कुनै रुख, जंगल हुन्नन् । यसमा लगानी गर्न बीआरआई आउने कि एमसीसी भन्ने विवादले मात्र यो परियोजना अलि ढिलो भएको हो । 

यसको दोस्रो फाइदा यो छ कि रकेट बनाउन धेरै खर्च लाग्छ, अनि प्रत्येक पटक नयाँ मिसनमा नयाँ रकेट बनाएर पठाउनुपर्ने हुन्छ । तर यो सगरमाथा–चन्द्रमा हवाई सडक बन्यो भने नेपालको अन्तरिक्ष पुग्ने मिसन पनि सफल हुन्छ । सबैलाई थाहा छ इन्धन एउटा महत्त्वपूर्ण संसाधन हो । जुन अहिले विश्वमा द्रुत गति र धेरै परिमाणमा खर्च भइरहेको छ । अर्को कुरा यो पनि सबैलाई थाहा छ कि चन्द्रमा माथि हुन्छ र पृथ्वी तल । चन्द्रमाबाट तल झर्दा शून्य गियरमा अर्थात् सित्तैमा झर्न सकिन्छ, जसले गर्दा इन्धनको धेरै बचत हुन्छ । चन्द्रमाबाट बहुमूल्य खनिजको बोझ बोकेर तल सगरमाथामा झर्ने यानको बोझले सगरमाथाबाट चन्द्रमा जाने यान आफै तानिएर माथि चन्द्रमामा पुग्नेछ । ग्राभिटेशन रोपवे देख्नुभएकै होला, नत्र सुन्नु त भएकै होला । हो ठीक त्यस्तै । 

नेताहरूले देशैभरि भ्यू–टावर बनाएका छन् । काठमाडौंमै धरहरा पुन: ठड्याएका छन् । तर मान्छेहरू कुरै नबुझी भ्यू–टावर के काम भन्छन् । धरहरा/भ्यू–टावर विकास र समृद्धि कहाँ आइपुग्यो भन्ने हेर्न बनाइएको हो । त्यसमाथि चढेर ग्याँसको पाइप, पानी जहाज कहाँ आइपुग्यो हेर्न मिल्छ ।

सगरमाथा–चन्द्रमा सडकको निर्माण सामग्री भण्डारण गर्न यसका दुवैतिर थुप्रै दोकानहरू, थुप्रै पेट्रोल पम्पहरू खुल्नेछन् । यसले लाखौंलाई रोजगारी सृजना हुनेछ । यसले हाम्रो देशको बेरोजगारी समस्या हल हुनेछ ।

हामी सबै मान्छौं कि पृथ्वी आफ्नै अक्ष वरिपरि अर्थात् आफ्नै मियोमा घुम्छ । तर हाम्रा नेताजीहरू अथक् प्रयासपछि त्यो मियोलाई निकाल्न सफल भएका छन् । पृथ्वी हाम्री माता हुन् । पृथ्वीलाई विनाकारण घुमेको देखेर हाम्रा नेताहरूलाई राम्रो लाग्ने कुरै भएन । त्यसैले नेताहरूले पृथ्वी घुम्ने मियोलाई सफलतापूर्वक निकालेर फ्याँकिदिएका छन् । त्यसैले पहिले पृथ्वीले सूर्यको चक्कर लगाउँथ्यो । तर अब चन्द्रमाजस्तै सूर्य पनि पृथ्वीको चक्कर लगाउन थाल्नेछ । 

यति मात्र कहाँ हो र ? नेताजीहरूको योजना त अझै बृहत् पो छ त । उनीहरूले सूर्यलाई यस्तो ठाउँमा स्थापित गर्न प्रयास गरिरहेका छन्, जस्तै अन्टार्कटिका महादेश र आर्कटिक महासागर, जहाँ अत्यन्त चिसो हुन्छ । त्यहाँका जनताले कहिल्यै राम्रोसँग सूर्यको तातो पाउन सकेका छैनन् । हो, त्यहाँ लगेर सूर्यलाई धेरै समय राख्ने योजना छ नेताजीहरूको । त्यसो भएपछि हाम्रोतिर पनि गर्मी भाग्छ, शितल लाग्छ । त्यसको अर्को फाइदा यो छ कि सूर्य ती ध्रुवहरूमा धेरै बस्न थालेपछि हिउँ पग्लनेछन् र हाम्रा मानिसहरूले पिउने, सिँचाइ गर्ने प्रशस्त पानी पाउन सक्छन् । चन्द्रमामा पनि पानीको धेरै दु:ख छ । हाम्रा नेताहरूको योजना यो पनि छ कि हामीकहाँ अतिवृष्टि गर्ने बादलहरूको संकलन गरेर, भण्डारण गरेर त्यसलाई चन्द्रमामा पठाउने । यसले गर्दा चन्द्रमामा राम्रोसँग वर्षा हुन सक्छ र यहाँ पनि बाढी नियन्त्रण गर्न मद्दत पुग्छ ।

नेताहरूले नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिकामा आफ्नो प्रभुत्व स्थापना गर्ने प्रयास गरे । ललिता निवासको सिस्नोघारीमा धनाढ्यको बस्ती बसाउन पहल गरे । तर, मानिसहरूले कुरा नबुझेर सरकारी जग्गा हडपेको आरोप लगाए । ए बाबा, सरकारी होस् कि असरकारी विकास भए भएन र भन्या ? ‘आफू ताक्छु मुढा, बन्चरो ताक्छ घुँडा’ भनेजस्तै नेताहरू समस्या समाधान गर्न खोज्छन्, तर कुरा नबुझेर तालीको साटो उल्टो गालीमात्र पाइरहेका छन् ।

हाम्रा नेताहरूले यति ठूलो योजनामा काम गरिरहेका छन्, यो जनताले देख्दै देख्दैनन् । पाँच पाँच वर्षमा पनि यो गरेन, ऊ गरेन भनेर गुनासा मात्र गरिरहन्छन् । जाबो ५ वर्षमा के हुन्छ एउटा देशको जीवनमा ? फेरि चुनाव जितेको पहिलो वर्ष स्वागत समारोह, जितको र्‍याली र झ्यालीमै बितिहाल्छ । दोस्रो वर्ष राजनीतिको दाउपेच सिक्नमै व्यस्त हुनुपर्छ । अनि सरकारी कर्मचारी, व्यापारीसँग तालमेल मिलाउँदैमा समय जान्छ । तेस्रो वर्ष खाने र खुवाउनेमै जान्छ । चौथो वर्ष त रिसाएका मतदातालाई फकाउन घर दैलो कार्यक्रममा पुग्नैपर्‍यो । पाँचौं वर्ष ठूला अर्थात् टिकट बाँड्ने नेताको सेवामा हाजीर हुन जानैपर्‍यो, नत्र टिकट पाउन असम्भव हुन्छ । ठूला नेताका समस्या पनि ठूलै हुन्छन् नि । आफ्ना कार्यकर्तालाई मात्र हप्काएर र फकाएर पुग्दैन । दिल्लीका सिल्ली र बेइजिङका बेइमानहरूलाई खुशी पार्नैपर्‍यो । 

यसरी मरिहत्ते गरेर जनताका लागि खट्दा पनि नेताहरूले काम गरेन भन्नेहरू त वास्तवमै अबुझ हुन् । ठूला नेताका योजना पनि ठूल्ठूलै हुन्छन् नि । नेताले काम गरेनन् भनेर गनगन गर्नुको सट्टा ठूला योजना कहाँ के के छन्, बत्ती बालेर भए पनि खोज्न शुरू गरे हुन्न ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)